भारत जाने मजदूरलाई रोगभन्दा भोकको चिन्ता

भारत जाने मजदूरलाई रोगभन्दा भोकको चिन्ता


शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए ।

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । भन्छन्, ‘कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?’ उनले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताए । उनले भने, ‘हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।’ उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै थिए ।

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै थिए । ‘कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महिनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु,’ बेदकोट नगरपालिका–३ दैजीका बटालाले भने, ‘श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियति नै हो ।’ 

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हँुदै गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।

त्यस्तै भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ । एक दशकदेखि मजदूरीका लागि भारत आउनेजाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउँछन् ।

‘उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको’, खत्रीले भने, ‘आफू र परिवारको भोक टार्न बाध्यताले जानै प¥यो ।’ खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाए, ‘सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।’ 

गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताए । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको जानकारी दिए ।

सुदूरपश्चिमका सीमानाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको न्यौपानेले जानकारी दिए । रासस

 

Logo