बुद्ध एयरः बाँचिए भेटौंला, मरियो भने यति नै हो भन्दै जहाजबाटै यात्रुले पठाए आफन्तलाई म्यासेज

बुद्ध एयरः बाँचिए भेटौंला, मरियो भने यति नै हो भन्दै जहाजबाटै यात्रुले पठाए आफन्तलाई म्यासेज


काठमाडौंबाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एयरको विमान पुनः काठमाडौं नै फर्काएर सफल अवतरण गर्यो ।

दुई घन्टा आकाशमै फनफनी घुमेको विमान अन्ततः काठमाडौंमा सफल अवतरण गर्याे।

विमानको सफल अवतरणपछि लगभग आफूलाई माया मारिसकेका अधिकांश यात्रुको अनुहारमा खुशीको आँसु बगिरहेको थियो।

विमानचालक आङगेलु शेर्पालाई धन्यवाद दिँदै आफू सकुशल रहेको जानकारी परिवारलाई यात्रुहरूले सुनाउँदै थिए।

केही यात्रुका आफन्त भने विमानस्थलमै आएर अंगालो हालेर रोइरहेका थिए। विमानस्थलमा देखिएको उक्त भावुक दृष्यले अन्यलाई पनि स्तब्ध बनायो।

के भएको थियो घटना ?

चालक दलका सदस्यबाहेक ७३ जना यात्रु बोकेर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा विराटनगरमा अवतरण गर्न सकेन।

विमान विराटनगरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्कियो । तर, काठमाडौंमा पनि अवतरण गर्न सकेन र करिव एक घन्टा काठमाडौंकै आकाशमा घुमिरह्यो।

टीआर विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाडौंबाट विराटनगरको लागि उठेको थियो।

विमान ल्याण्ड गर्न नसक्नुको कारण चाहिँ ल्यान्डिङ गेयरमा अचानक समस्या देखिएपछि भएको थियो।

विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर २७ मिनेटमा सफल अवतरण गराइएको थियो।

के भन्छ प्राधिकरण ?

त्यसो त ल्यान्डिङ गेयरमा अचानक समस्या देखिएपछि गन्तव्यमा नपुग्दै विमानलाई फर्काइएको प्राधिकरणका निमित्त निर्देशक राजकुमार क्षेत्रीले बताए।

विमानको दाँयापट्टिको ल्यान्डिङ गेयर लक भएर रातो बत्ती बलेपछि पुनः विमानलाई काठमाडौं ल्याएर अवतरण गरिएको उनले बताए।

‘विराटनगर पुग्नै लाग्दा विमानको दाँयापट्टिको ल्यान्डिङ गेयर लक भएर रातो बत्ती बल्यो। पछि पाइलट आफूले पनि प्रयास गर्दै गर्दा पछि तीनवटै ल्यान्डिङ गेयर ठिक देखियो र हरियो बत्ती पनि बल्यो। तर सुरक्षा सावधानी अपनाउँदै जहाजलाई डाइभर्ट गर्नुभयो । र, सुरक्षित रुपमा काठमाडौंमा ल्याण्ड गर्नुभयो,’क्षेत्रीले भने।

के भन्छन् विमानमा सवार यात्रुहरू ?

विमानचालकको अथक प्रयासले आफूहरूले नयाँ जीवन पाएको यात्रुहरूको भनाई छ।

यात्रुले जब थाहा पाए कि विमानमा समस्या आएको छ । उनीहरू रुन कराउन थालिसकेका थिए । विमानमा सवार एक यात्रुले केन्द्रबिन्दुसँग भने।

ती यात्रुले भने,‘एयरहोस्टेसहरूले हामीलाई सम्झाउने प्रयास गरे पनि उनीहरु आफैं ‘नर्भस’ थिए, हामी पनि रुन थाल्यौं।’

अर्का एक यात्रु भन्छन्, ‘मैले त बाँच्ने आशा नै मारिसकेको थिएँ ।’ सोही विमानमा विराटनगरका पत्रकार धर्मराज ढकाल पनि थिए । उनले यात्रुहरूसँग लिएको अनुभव भिडियोमा यात्रु प्रताप लिम्बूले आफ्नो आज अन्तिम दिन रहेको भन्ने महसुस भएको प्रतिक्रिया दिएका छन्।

ती यात्रुले भने,‘हामी ८ः ०५ को फ्लाईटबाट विराटनगर जाँदै थियौं । तर, विराटनगरमा विमान ल्याण्ड हुन सकेन। ल्याण्ड हुन नसकेपछि हामीले सोध्दा प्लेनमा थोरै समस्या निस्किएको छ भनियो । त्यहाँ क्याप्टेन साहेवले धेरै दुःख गर्नु भयो । ६÷७ पटक नै प्रयास गर्नु भयो तर सक्नु भएन । फेरि काठमाडौं ब्याक गर्नु भयो ।

काठमाडौं आउनेबेलासम्म मलाई त केही भएको थिएन, ढुक्क नै थिएँ । अब जहाज अवतरण हुन्छ, राम्रो हुन्छ होला भन्ने भयो । तर, काठमाडौं आएपछि पनि जहाज ८\१० पटक घुमाको घुमाई गर्दा खेरी चाहिँ मनमा चिसो पस्न थाल्यो । जहाजबाट मुनि हेर्दा त नेपाली सेनालगायत सुरक्षाकर्मी रेडि पोजिसनमा हुनुहुन्थ्यो । त्यसपछि चाहिँ जिन्दगी यति नै रहेछ जस्तो लाग्यो । यो प्लेनमा दुर्घटना हुन्छ नै भन्ने भयो ।

जहाजभित्र रुवाबासी नै चलेको थियो । हामीले त ढोका खोल्दिनुस्, हामी हामफाल्छौं समेत भन्यौं । तर, एयरहोस्टेज धेरै राम्रो हुनुहुँदो रहेछ । उहाँहरुले नआत्तिनुस्, तपाईंहरूलाई बचाउने सक्दो प्रयास गर्छौं भन्नु भयो । फ्यूल माथि सकेर तल पानी राखेर फर्म ओछ्याएर सेफ ल्याण्डिङ गर्छौं भन्नुभएको थियो । फ्यूल सकेपछि आगो लाग्दैन भनेर हामीलाई भनिरहनु भयो ।

त्यसपछि क्याप्टेनले लास्ट एक पटक ट्राइ गर्छु भन्नु भयो । र, सेफ ल्याण्डिङ भयो । मान्छेहरु १÷२ जना बेहोश पनि भए । त्यो अवस्थामा जस्तोसुकै मुटु दरो भएको मान्छे पनि कमजोर बन्छ । एयरहोस्टेसको आँखामा पनि आँशु आएको देख्न सकिन्थ्यो । आजको यात्रामा हामी सफल भयौं ।

मैले त घरमा म्यासेज गरिसकेको थिएँ, यति नै रहेछ भनेर । बाँचे भने भेटौला, मरियो भने यति नै भनेर ।

त्यस्तै अर्की एक यात्रुले प्लेनभित्र आफूहरूलाई त्यस्तो केही नलागेको तर, बाहिर हेर्दा र तल भुईमा हेर्दा चाहिँ आफूहरूलाई समस्या परेको प्रतिक्रिया दिइन्।

एम्बुलेन्स, प्रहरी, आर्मी, दमकल लगायत मानिसहरूको भीडले आफूहरूलाई तनाव बढाएको उनले बताईन्।

उनीसँग काखमा नानी थियो, बच्चालाई छातीमा टाँसेर ‘बाबु अब बाँचियो’ भन्दै खुशी हुँदै थिइन्।

त्यस्तै अन्तिम सिटमा बसेका यात्रुहरूले पनि ३ पटक जहाजले कोशिस गर्दा पनि ल्याण्ड हुन नसकेपछि अब चाहिँ मरियो भन्ने भान भएको प्रतिक्रिया दिए ।

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

आजै बुद्धको अर्को विमानमा पनि समस्या

ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको छ ।

बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो।

तर, जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ ।

ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको र समस्या पहिचानपछि जहाज पुनः उडेको बुद्ध एयरले बतायो।

के भन्छ बुद्ध एयर ?

बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्धले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको हो।

बुद्ध एयरले जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको बताएको छ।

कम्पनीका अनुसार विराटनगरको टावरले समेत गियर नझरेको जानकारी गराएको र त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिएको जानकारी दिएको छ।

उसले सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंका आकाशमा फन्को मारेको र सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित काठमाडौंमा अवतरण गरेको जनाएको छ ।

यात्रुमा परेको असुविधाप्रति बुद्ध एयर कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धतासमेत कम्पनीले गरेको छ ।

काठमाडौंबाट विराटनगर उडेको जहाज कलसाइन ९ एनएएनटीआई विमानभित्र वयस्क ६८ र बच्चा ५ जना गरी ७३ यात्रु सवार थिए । 

अर्को विमानका बारे भने बुद्धले समस्या पहिचानपछि जहाज पुनः उडेको बतायो।

Logo