ज्यान गुमाएका परिवारको घरैमा पुगेर राहत वितरण

ज्यान गुमाएका परिवारको घरैमा पुगेर राहत वितरण


कात्तिकको २ र ३ गते अविरल रूपमा परेको वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहत दिएको छ । बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई जिल्ला प्रशासन कार्यालयले घर–घरमा पुगेर राहत रकम प्रदान गर्दैछ । शनिवार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर मृत्यु भएको ज्यान गुमाएका सात जनाको तीन परिवारलाई घरैमा गएर चेक दिएको हो ।

फाकफोकथुम गाउँपालिकाको–१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्पा र १४ वर्षका आइतबहादुर राईको परिवारलाई जनही दुई/दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । टिना शेर्पाको बाबु नरबहादुर शेर्पा र आइतबहादुर राईको बाबु जर्गबहादुर राईलाई चेक प्रदान गरिएको हो । 

राई र शेर्पाको कच्ची भान्सामा बसिरहेको बेला माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो । सो पहिरोमा चार जना परेका थिए, दुईको भने स्थानीयले उद्धार गरेर बचाएका थिए । 

त्यस्तै फाकफोकथुम गाउँपालिका–३ आम चोकको एकै घरमा पहिरोले पुरेर ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गरिएको छ । राहत रकम श्रीमान् कटुवालले बुझेका थिए । 

घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ बर्सिया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ बर्सिया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिंह कटुवालको बहिनी हुन् । 

उनको भने कागजात पुरा गरेपछि राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । पहिरोमा ६ जना परेका थिए । घरको माथिल्लो तलामा सुतेका एक जना उछिट्टिएर पहिरो बाहिर परेकी थिइन भने एक जनाको भने स्थानीयले उद्धार गरेका थिए । 

बाँसको झ्याङ सहित झरेको पहिरोले ढुङ्गा माटोले बनेको दुईतले घर पुरै नष्ट गरेको छ । विपदमा परेकाहरूलाई आवश्यक परेकै बेलामा राहत उपलब्ध गराउन घर/घरै पुगेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

‘पहिरोले आफन्त गुमाएका परिवार अहिले उनीहरूको काजक्रियामा बसेका छन्, उनीहरूलाई यही बेला थप खर्च आवश्यक छ’, प्रजिअ खड्काले भने,‘सरकारले उपलब्ध गराएको राहत रकम आवश्यक परेकै बेलामा दिँदा पीडितले राहत महसुस गर्छन् ।’ 

यसअघि जिल्ला प्रशासन कार्यालयले देउमाई नगरपालिकाको एक परिवारलाई समेत दुई लाख रुपैयाँको चेक राहत स्वारुप उपलब्ध गराइसकेको छ । देउमाई नगरपालिका–४ की ४७ वर्षकी सरिता आचार्यको परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो । 

आचार्यको परिवारलाई देउमाई नगरपालिकाले समेत थप ५० हजार रकम उपलब्ध गराइएको नगरप्रमुख सूर्य पोख्रेलले जानकारी दिए । बाढी पहिरोका कारण इलाममा १५ जनाको मृत्यु भएको छ ।  न्युज कारखाना

Logo