७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा पुग्छिन्। उनलाई घरबाट दल्ली पुग्न दुई दिन लाग्छ। टाढाको वस्तु राम्रोसँग देख्न नसक्ने धनसरी सुरक्षा भत्ता लिन जाँदा आउँदा नै असुरक्षा हुने बताउँछिन्।
आउँदा, जाँदा उनको बाटो खर्चमै करिब चार हजार जति सकिन्छ। यसपटक पनि आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको उनले बताइन्। उनले भनिन्, ‘घरघरमै भत्ता दिने व्यवस्था गरेको भए हुन्थ्यो। दुःख ज्यादै दिन्छन्। पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधा रकम आफूले खाएर हामीलाइ दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो।’
गत हप्ता आइतबार विहान भत्ता लिन आएका जेष्ठ नागरिक, एकल महिलाहरूको काम मंगलबार मात्र भएकाे थियाे। उनले भनिन्, ‘छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता दिएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो। आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ।’
नलगाडको वडा ११, १२ र १३ केन्द्रबाट सबैभन्दा टाढा छन्। डोल्पाको सीमानासँग जोडिएका यि वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिका मुकामसम्म आउन र जान दुई दिनभन्दा बढी लाग्छ। सम्बन्धित व्यक्तिबाहेक अरु आए बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैं रकम लिन आउनु पर्ने हस्त कामीले बताए। जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने यि ठाउँहरू दुर्गम मध्येमा पर्छन्। हरेक चार चार महिनामा सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ।
नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पुरा नपाएको उनीहरूले बताएका छन्। सधैं पाउनु पर्ने रकमभन्दा एक सय, दुई सय रुपैयाँ कम दिने गरेको उनीहरूको भनाइ छ। त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन्।





























प्रतिक्रिया