काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शंखधर पार्कको उद्घाटन

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शंखधर पार्कको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमीस्थित शंखधर चोकमा निर्माण भएको शंखधर पार्कको आज उद्घाटन भएको छ। 

उक्त पार्कको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन्। उद्घाटनपछि सम्वोधन गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले उपत्यकाका १२ वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिए।

 ‘शंखधर पार्क पनि त्यहि मध्येको एक हो,’ शाक्यले भने,  ‘काठमाडौँ महानगरपालिकाले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका छौँ। आज काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उद्घाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ।’  

प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताए।

‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उनले भने, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो, हामीले पनि मायाँ गर्नुपर्छ,  महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह भएको छ ।’ 
उनले काठमाडौँ महानगरपालिका सबै भन्दा पुरानो र साँस्कृतिक पालिका भएकाले अन्य नगरपालिकालाई पनि सांस्कृति सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए । 

‘ मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क  निर्माणका लागि पनि  महानगरले दुई करोड सहयोग गरेको छ,’ उनले भने, ‘यो सहयोगबाट यस्तो सुन्दर पार्क बन्दा खुशी लागेको छ ।’  

प्रमुख शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराए। ‘काठमाडौँमा मानव निर्मित सम्पदा छन् । उपत्यका सम्पदा नै सम्पदाले भरिएको छ। विश्व सम्पदा सूचिमा सूचिकृत चार वटा सम्पदा त काठमाडौँ महानगरपालिका भित्रै छन्,’ उनले भने, ‘उपत्यका बाहिरका धेरै नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्। हामी यी दुईबीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले उपत्यका बाहिरका पालिकासँग पनि भगिनी सम्बन्ध स्थापना गर्दै आएका छौँ।’  

उनले उपत्यका बाहिरका पनि सात प्रदेशमा पहिलो चरणमा सात पालिकासँग भगिनी सम्बन्ध स्थापनाको गर्ने लक्ष्य लिएको बताए। अहिलेसम्म काठमाडौँ महानगरपालिकाले पाँच वटा प्रदेशका पाँच पालिकासँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ। 

कर्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको उक्त सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण भएको बताए। काठमाडौँ महानगरपालिकाको दुई करोड र मध्यपुर थिमीको चार करोड गरी जम्मा ६ करोडमा उक्त पार्कको निर्माण भएको मेयर श्रेष्ठले जानकारी दिए।  

उनले अझै पार्क पूर्णरुपमा निर्माणका लागि थप रकम लाग्ने भन्दै महानगरसँग थप सहयोगको अपेक्षा गरेको बताए। ‘कुनै समय फोहोरको पहाड जस्तो देखिने यो पाखोलाई अहिले सुन्दर पार्क निर्माण गरी उद्घाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ,’ श्रेष्ठले भने, ‘यहाँका सम्पदा संरक्षणमा हामी अहोरात्र खटिएका छौँ। यो यसैको परिणाम हो।’ कार्यक्रममा नेवारी संस्कृति झल्किने विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो।  

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर आफ्नो माइती जिल्ला भएको भन्दै कुनै समय फोहोरको पहाड जस्तो देखिने र नाक थुनेर हिड्नु पर्ने यस्तो ठाउँमा पार्क निर्माण हुँदा खुशी लागेको बताइन्। उनले काठमाडौँ महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताइन्। ‘काठमाडौँ महानगरको विकासका लागि मेयर हाम्रो कतै विवाद छैन,’ उनले भनिन्, ‘केही विवाद भए हामीले आन्तरिक रुपमै हल गर्दै अघि बढेका छौँ।’

Logo