बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरि चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथ नगरपालिका-१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनिषादेवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका-४ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय कृष्णकुमार यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
जनकपुरधाम-७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया दिदी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेकी थिइन् । एलिया कुरकुरे किन्न पसलमा गए लगतै मनिषा अख्तरलाई लिएर भागेका थिइन् ।
घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सामाजिक संजाल फेसबुकसहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजी कार्य भएको थियो।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो। प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
मनिषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीको भनाइ छ। बच्चा चोरीमा सघाएर मनिषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए। उपरीक्षक रजौरेले मनिषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ।





























प्रतिक्रिया