महोत्तरीको गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।
मधेस प्रदेशको मध्य भागमा बन्न लागेको सुधार गृहले लागूपदार्थको नसामा डुबेर परिवार, समाजमा असर परिरहेका महोत्तरी मात्र नभएर आठ वटै जिल्लाका युवाहरूका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
मधेस प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको पहलमा बन्न लागेको सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह राखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रौतहटको कटहरियामा मारिएका शेखरको सम्झनामा सुधार गृह बनाइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
गौशाला-८ स्थित सोनी खोल्सीमा बन्न लागेको नवनिर्मित भवनको बिहीबार आन्तरिक मामिला तथा सम्चार मन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका थिए । मन्त्री साहले यही बजेटले मात्र संरचना निर्माण पर्याप्त नहुने भएकाले बहु वर्षीय भवन बनाउन बजेटका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
सुधार गृहका लागि गौशाला नगरपालिकाले झन्डै दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मन्दिर र जंगलको बीचमा रहेको सुधार गृह हरेक हिसाबले सुरक्षित र मैत्रीपूर्ण हुने नगर प्रमुख शिवनाथ महतोको भनाइ छ । महोत्तरी भारतीय सीमा नाकाबाट नजिक भएको हुँदा पनि अन्य जिल्लाको भन्दा लागूपदार्थ कारोबार तथा यसको नसामा लाग्नेको संख्या अधिक रहेको प्रहरीको तथ्यांकले देखाएका छन् । पछिल्लो तीन महिनामा महोत्तरीमा १४९ जना लागूपदार्थ कारोबार तथा प्रयोग गर्ने पक्राउ परेका छन् । ठुलो मात्रामा गाजा, लागुऔषध तथा सिरिन्ज बरामद भएका छन् ।





























प्रतिक्रिया