नेपाली चिया तथा कफी क्षेत्रको विकासका लागि सम्झौता

नेपाली चिया तथा कफी क्षेत्रको विकासका लागि सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद् बीच चिया तथा कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिया तथा कफी क्षेत्र विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पु¥याउने उद्देश्यले समझदारीपत्रमा सोमबार हस्ताक्षर गरिएको हो । देशको हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन र प्रशोधन, प्रविधिको विकासका लागि अनुसन्धान गर्ने, उच्च गुणस्तर भएको धेरै उत्पादन दिने र रोग किरा सहन सक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचनका लागि अनुसन्धान गर्ने विषय समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै चिया तथा कफी विकासमा देखा परेका र भविष्यमा देखिन सक्ने रोग, उत्पादन र उत्पादकत्व लगायतका समस्या समाधानका लागि अध्ययन गर्ने, चिया तथा कफी विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका लागि उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन जैविक आनुवंशिक भौतिक रसायनिक भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने र प्रकाशन गर्ने विषयमा पनि समझदारी भएको छ ।

त्यस्तैगरी जलवायु परिवर्तनले नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने समस्या र त्यसको न्यूनिकरणका लागि अध्ययन गर्ने, अध्ययन, अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादन तथा उच्च शिक्षा नवप्रवर्तन र क्षमता विकासका कार्यक्रलाई उपयोगी, प्रयोगात्मक बनाउन सहकार्य गर्ने विषयमा समेत समझादारी भएको हो । बार्डकातर्फबाट कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई र परिषद्कातर्फबाट कार्यकारी निर्देशक डा. दिपक भण्डारीले हस्ताक्षर गरेको सम्झौतामा दुबै पक्षले आफ्नो वार्षिक कार्यक्रममार्फत बजेटको व्यवस्थापन गर्र्नेे सहमति पनि भएको छ ।

Logo