पल र कृष्णप्रसादको बयान सकियो, आजै थुनछेक बहस सुरु

पल र कृष्णप्रसादको बयान सकियो, आजै थुनछेक बहस सुरु

केन्द्रबिन्दु
0
Shares

नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीसँगको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ । शाहका म्यानेजर जोशीसँगको बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।  

बुधबार दिउँसो २ बजे  जिल्ला अदालत तनहुँको बन्द इजलासमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको उनले बताए । 

‘जाहेरवालाको तर्फबाट पाँच जनाले बहस गरिसक्नुभएको छ,’ उनले भने । जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रतिवादीकातर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको कुवँरले जानकारी दिए । तनहुँकै कानुन व्यवसायी भानुभक्त सुवेदी, यदु खनाल लगायतले बहस गर्ने जनाएका छन् । स्रेस्तेदार कुवँरका अनुसार सम्भवतः बुधबार बहस सकिँदैन् । ‘बहस नसकिन्जेल वकालतनामा दर्ता गराएर कानुन व्यवसायी अझै थपिन सक्नेछन्,’ उनले भने ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गरेपछि शाहको बयान लिएको थियो । मतियारका रुपमा प्रयोग भएका उनका म्यानेजर जोशीको भने बुधबार बयान सकेर बहस सुरु भएको हो । 

दुवै पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालतले थुनछेक आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।

१२ देखि १४ बर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई पनि आधा सजायको माग गरिएको छ ।

पल शाहविरुद्ध ११ फागुनमा तनहुँ उजुरी परेको थियो । नवलपुर जिल्ला अदालतमा पनि गत विहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । 

Logo