अमेरिकी राष्ट्रपति जो बाइडेनले डिन थोम्प्सनलाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका छन् । मंगलबार राष्ट्रपति बाइडेनले लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका हुन् । अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उनी नेपालका लागि राजदूत नियुक्त हुनेछन् ।
थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ’प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।
त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ’डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।
त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त ¥यान्डी बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए ।
सामान्यतया अमेरिकी राजदूतको कार्यकाल ३ वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो । नयाँ राजदूतका रूपमा थोम्प्सनको नियुक्तिसँगै बेरी फर्किनेछन् ।





























प्रतिक्रिया