पोखरा।
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनु पर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ ।
यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो । रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासङ्घ कास्कीले भदौ १७ गतेदेखि आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको छ ।
जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१ औँ स्मृति दिवसको सन्दर्भ पारेर कोरोना कहरका बीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।
रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । उनका अनुसार निषेधाज्ञा अलि खुकुलो भएपछि नियमित कार्यक्रमको तालिकासमेत बन्न शुरु भएकाले अब अभाव नहुने विश्वासमा रहेको जनाए।
हाल कोही पनि विरामी रगत अभावमा फर्कनु पर्ने अवस्था नरहेको बताउँदै उनले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे । “एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलोपटक हो, उनहरुले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ”, ज्ञवालीले भने, “आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ ।”
राजनीतिसँगै युवालाई सामाजिक कार्यमा जोड्ने योजना अनुसार राष्ट्रिय युवा सङ्घले पोखरामा वर्षेनी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो । सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनु पर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताउँछन् ।





























प्रतिक्रिया