मनसुन सुरु भएसँगै देशमा भारी वर्षा र वर्षाले विपद् आउन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार बर्षासँगै आएको बाढीका कारण हेम्जाको सुनखेतका ६०० भन्दा बढी घर डुबानमा परेको छ ।
पोखरा वडा नं २५ का अध्यक्ष मोतीराज तिमिल्सिनाले पानीले दुई घर पूर्णरुपमा भत्किएको र थप १५ वटा घरमा आंशिक क्षति पुगेको बताए ।
म्याग्दीचोकदेखि सुन्दरपुरीसम्मका बस्ती डुबानमा परेको तिमिल्सिनाले जानकारी दिए । वडा सदस्य सुवास भण्डारीले चौरासी नहरमा बनाएको बाँध पनि बाढीका कारण भत्किएको जानकारी दिए ।
राति ११ बजे सुनखेत नदीमा बाढी आएको स्थानीयले बताएका छन् ।
यसैबीच, शुक्रबारको अविरल वर्षापछि कास्कीको सशस्त्र प्रहरी बलले सुइखेतका झण्डै ७० घरधुरीका तीन सय जनाको उद्धार गरेको छ ।
शनिबार कैलालीको भजनी नगरपालिका र टीकापुर नगरपालिकाको बजार क्षेत्र पनि बाढीले डुबानमा परेको छ । यस क्षेत्रमा धेरै पानी परेको छैन तर पनि उचित ढल निकास नहुँदा दुई सहर डुबानमा परेको स्थानीयले बताए ।
त्यसैगरी आइतबार देशका पहाडी भू–भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।





























प्रतिक्रिया