युट्युब हेरेर नै ‘ड्रागन खेती’, बजारको छैन चिन्ता

युट्युब हेरेर नै ‘ड्रागन खेती’, बजारको छैन चिन्ता


पछिल्लो समय ड्रागन फलको बजार माग यति छ कि पूरा गर्न व्यवसायीहरुलाई मुस्किल भएको छ । 

केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा छ्याप्छ्याप्ती पाइन्छ । बढ्दो बजार मागका कारण ड्रागन फलको व्यवसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । सिउँडी जस्तो देखिने ड्रागन फलको बारेमा अझैपनि कतिपय त अनविज्ञ नै छन् । सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यवसायीक खेती शुरु भएको छ । अन्तर्राष्ट्रियस्तरमा चर्चित देखेर नै  कञ्चनपुरका गोकर्णबहादुर वलीले कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर ड्रागन खेती सुरु गरे । युट्युब हेरेर खेती गर्ने तरिकाबारे जानकारी लिएको बताउने उनी बजारमा ड्रागनको माग धान्नै नसक्ने अवस्थामा रहेको बताउँछन् । 

उत्पादन भएको फल फार्मबाटै बिक्रि हुन्छ । बजारसम्म पनि  पुर्याउन जानु पर्दैन । ड्रागन खेतीका लागि अहिलेसम्म उनले ३२ लाख रुपैयाँ लगानी गरिसकेका छन् । पहिलो वर्ष नै ५ सय केजी बिक्री गरेका वलीले अन्य स्थानको तुलनामा आफ्नो बारीमा छिटो फलेको बताउँछन् ।  लगाएको १८ महिनापछि ड्रागनले उत्पादन दिन शुरु गर्दछ । ३ वर्षसम्म कुरे राम्रो उत्पादन दिन्छ । खेती बिस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएको र डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेको उनले बताए । 
 ड्रागन खेती भित्र अन्तर बाली पनि उत्तिकै फस्टाउने गरेको छ । आन्तरिक खर्च त यही बालीले उठाउने वली बताउछन् । आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाई छ ।  खासगरी ड्रागनको विरुवाले १८ महिनामा उत्पादन दिन्छ । प्रतिकेजी ६ सयका दरले ड्रागन फल बिक्रि हुने गरेको छ । 
 
गोदावरी ड्रागन फललाई प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको छ । कृषि विकास निर्देशक यज्ञराज जोशीले ड्रागन फलको खेती सुदूरपश्चिममा पहिलोपटक गरेकाले अनुदान दिएको बताए । कृषि अनुसन्धान टोलीले निरीक्षण गरिरहेको बताउदै उनले ड्रागन फार्ममा दुई प्रकारको प्रजाति रहेको बताए । ड्रागन फलमा हुने फाइबर र एन्टी अक्सिडेन्ट्सले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्छ । 
सुदूरपश्चिम प्रदेश ड्रागनको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जेठदेखि असोज–कार्तिकसम्म उत्पादन हुन्छ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्षसम्म उत्पादन दिन्छ ।

Logo