नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख रकम निकासा गरेको छ ।
प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको समापन समारोहमा उनले चालु वर्षको रातो किताबमा विनियोजित रु एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक रु एक करोड ४० लाख निकासा गरिएको जानकारी दिए । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को मागअनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको बताइएको छ ।
नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन र समापन समारोह सहित अधिकांश खेल पोखरा रङ्गशालामा हुनेछ । गण्डकीमा दोस्रो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।





























प्रतिक्रिया