कोरोनाबाट सचेत रहन राष्ट्रिय खेलाडीहरुको आग्रह (कसले के भने ?)

कोरोनाबाट सचेत रहन राष्ट्रिय खेलाडीहरुको आग्रह (कसले के भने ?)

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई 
    काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन नेपाली राष्ट्रिय खेलाडीहरुले आग्रह गरेका छन् । राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् । उनीहरुले सरकारको निर्देशन पालना गर्दै सुरक्षाको उपायहरु अपनाउन समेत आग्रह गरेका छन् । कसैले भिडियो सन्देशमार्फत त कसैले फेसबुक स्टाटसमार्फत कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् ।कोरोनाका कारण हजारौंको ज्यान गएको छ । लाखौंको संख्यामा संक्रमित भएका छन् । नेपालमा समेत ४ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस सन्दर्भमा खेलाडीहरुको आग्रह यस्तो छ :

१. सन्दीप लामिछाने


नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसबाट सबैलाई सुरक्षित रहन र सकेको सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै कोरोना भाइरससँग लड्न सरकारलाई १ लाख रुपैयाँ सहयोग समेत गर्ने बताएका छन् । उनले आफ्नो फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सो सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लागेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ ।’

२. पारस खड्का


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले भिडियो सन्देशमार्फत सचेत रहन सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन् ‘मलाई थाहा छ यो समय हामी सबैको लागि सजिलो छैन, त्यसैले अहिलेको यो अप्ठ्यारो परिस्थितिमा हामी सबै घरमा बसेर अति आवश्यक काम बाहेक बाहिर नगइ सरकार, सम्बन्धित निकाय सबैलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यो अत्यन्तै आवश्यक छ हामी सबै जना आआफ्नो व्यक्तिगत तर्पmबाट जिम्मेवारी भए आगामी दिनमा यो कठिन परिस्थितिबाट हामीलाई अगाडी बढ्नको लागि एकदमै सजिलो हुनेछ । यस संकटको हामी सबै मिलेर सामना गरौं ।’

३. किरणकुमार लिम्बु


राष्ट्रिय टिमका कप्तान भारतको आईलिगमा पञ्जाव एफसीबाट खेलेका गोलरक्षक किरणकुमारले आवश्यकता बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रह गरेका छन् । ‘संसारभरी कोरोनाले सबैलाई समस्यामा पारेको छ । कति मान्छे मरेका छन् । नेपालमा पनि यसको समस्या नआओस् । भिडभाडमा नजानुस् । कुनै पनि आवश्यक काम छैन भने घरबाट बाहिर ननिस्कनु,’ भारतमै रहेका उनले भनेका छन् । यस्तै किरणले मास्क र सेनिटाईजरको प्रयोग गर्न सबै खेलकुद प्रेमिलाई आग्रह गरेका छन् ।

४. सावित्रा भण्डारी ‘साम्बा’


महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले कोरोनाबाट सजक रहन र बजारमा फैलिएका अफवाहको पछि लागेर आतंकित नहुन आग्रह गरेकी छिन् । भर्खरै सम्पन भारतीय महिला आईलिगमा गोकुलम केरेलालाई उपाधि दिलाएकी साम्बाले भनेकी छिन, ‘कोरोनाले मान्छेहरुलाई सोच्न पर्ने बाध्य बनाएको छ । नेपाल पनि उच्च जोखिममा रहेको छ । हामी सबैले सरकारका निर्णयको पालना गरौं । अनावश्यक हल्लाको पछि लागेर आतंकित नबनौं ।’ नेपाली महिला फुटबलमा गोल मेसिनको उपमा पाएकी साम्बाले कोरोनाविरुद्ध गोल गर्न समेत आग्रह गरेकी छिन् । उनले भनेकी छिन् ‘स्टे काम, स्टे सेप, स्टे होम, लेट्स स्कोर एगेन्स्ट कोरोना ।’

५.रोहित चन्द


इन्डोनेसियाको शीर्ष डिभिजन लिग खेल्दै आएका अट्याकिङ मिडफिल्डर रोहित चन्दले नेपाल सरकारको नियम पालना गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन् । ‘कोरोना भाइरस कत्तिको घातक छ भन्ने हामीलाई थाहा छ । यसबाट बच्ने उपाय छन् । त्यसलाई अपनाउनुस । नेपाल सरकारले ल्याएको नियम पालना गरौं । सरकारलाई सहयोग गरौं,’ उनले भनेका छन् । पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहितले कोरोना संक्रमणबाट साबधानी अपनाउन आग्रह गरेका छन् । ‘आफ्नो स्वास्थ्यको ख्याल गरौं । अतिआवश्यक काम बाहेक बाहिर ननिस्कनु होला । भिडभाड नगर्नु होला । आफैं जिम्मवारी भएर स्वास्थ्यको ख्याल गर्नूस्’ रोहितले भनेका छन् ।

६. सरस्वती चौधरी


राष्ट्रिय भलिबल टिमकी भरपर्दो खेलाडी साथै एपीएफ क्लबमा खम्बा सरस्वती चौधरीले भनेकी छिन् ‘हाम्रो बिदा छैन । तर, कोरोनाको त्रासले घर बाहिर पनि निस्कन पाएको छैन । आफैं सेल्फ ट्रेनिङमा बसेको छु । कोरोनाबाट जोगिन सरकारले भनेको कुराहरु पालना गर्नुहोस् । घर बाहिर ननिस्कनु । साबुन पानीले हात धुने गर्नुहोस् । सरसफाईमा ध्यान दिनुहोस् । सहज रहनु होस्’।

७. कुलबहादुर थापा


नेपाल पुलिस क्लब तथा राष्ट्रिय भलिबल टिमका खेलाडी कुलबहादुर थापा लकडाउन हुनु भन्दा एक दिन अगाडी घर (बुटवल) पुगेका थिए । उनले भनेका छन् ‘१५ दिन भएको छ घर बसेको किनकि जताततै कोरोनाको त्रास छ । ढाडको चोटले गर्दा प्रशिक्षण गर्न मिल्दैन, त्यसैले आराम गरिरहेको छु । सबै खेल प्रेमी दर्शकहरुलाई आफ्नो ख्याल राख्न अनुरोध गर्न चाहन्छु । पहिलो कोरोना लाग्न नदिनु नै राम्रो हो । त्यसैले घरमै बस्नुहोस् । भेटघाट कम गर्नु होस्’ ।

८. प्रतिभा माली


राष्ट्रिय भलिबल टिमको प्रतिभाशाली खेलाडी प्रतिभा माली हाल न्यु डाइमण्ड क्लबमा आवद्ध छिन् । उनले पनि नेपालीलाई सचेत रहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन् ‘मेरो लागि २ महिना भईसक्यो लकडाउन भएको । चोट बोकेपछि बेड रेस्टमा छु । अहिले घरमै सामान्य अभ्यास गर्ने गरेको छु । बैसाखी बिना हल्का हिड्न थालेको छु । कोरोनाको कारण धेरै चहलपहल छैन । सबै जना आफैं सजग हुनुहोस् । म पनि सजग छु । साबुन पानीले हात धुने गरेको छु । तपाईंहरु पनि धुनुहोस् । कोरोनाको औषधि बनेको छैन । त्यसैले यसको औषधि भनेकै घरमा बस्नु हो’ ।

९. एन्जिला तुम्बाप्पो सुब्बा


महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले नेपालीले कोरोनाको खासै मतलब नलिएपनि स्वास्थ्यको खेलबाड नगर्न आग्रह गरेकी छिन् । ‘अहिले विश्वभर कोरोना भाइरस चलिरहेको छ । नेपालीले सिरियस नलिएको जस्तो लाग्छ । कतै बाहिर हिड्दा घुम्दा मास्कको प्रयोग गर्नुहोला । आफूपनि बाँचौं अरुलाई पनि बचाउँ,’ एपीएफ क्लबकी एन्जिलाले भनेकी छिन् । यस्तै उनले सोसल मिडियामा आउने हावा न्युजको पछि नलाग्न र एक अर्कासँग सहयोगको भावना राख्न अनुरोध पनि गरेकी छिन् ।

१०. धनबहादुर भट्ट


आर्मी क्लबमा आवद्ध धनबहादुर भट्ट राष्ट्रिय भलिबल टिमका खेलाडी हुन् । उनले भनेका छन् ‘मेरो जमदारको बढुवाको लागि ट्रेनिङ थियो । तर, लकडाउनले अहिले रोकिएको छ । घरमै बसेको छु । बाहिर निस्किएको छैन । अफिसको छुट्टि छैन । अफिसले जति बेला फोन आउँछ, त्यसको आधा घण्टामा अफिस हाजिर हुनु भनेको छ । कोरोनाको संक्रमणबाट जोगिन बाहिर ननिस्की घरमै बस्नुहोस् । निस्कनु परे मास्क लगाएर निस्कनु होला । साबुन पानीले राम्ररी हात धुने गर्नुहोस् । आफ्नो ख्याल गर्नुहोस् ।’

Logo