- सृजना राई
काठमाडौं ।
आज (बिहिबार) अर्थात् फागुन २९ गते नेपाली फुटबल क्षेत्रको कालो दिन । वि.सं. २०४४ साल फागुन २९ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज सिल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल थियो । दशरथ रंगशालामा जनकपुर चुरोट उद्योग कारखाना र मुक्तीजोद्या बंगलादेशको टिमबीच फाइनल खेल चल्दै थियो ।
खेलमा सुरुवातदेखि नै दर्शकको उत्साहजनक सहभागिता थियो । फाइनल खेल भएकाले रंगशाला भरिभराउ थियो । पुरै नागरिक काठमाडौं त्रिपुरेश्वरमा ओर्लिएको जस्तो थियो । दर्शक दिर्घामा खुट्टा टेक्ने ठाउँ थिएन । तर, मौसम भने सफा थिएन । सामान्य झरीसँगै हावा हुरी पनि चलिरहेको थियो । मौसम प्रतिकुल भएपनि दर्शक मैदान छिर्न खोज्ने क्रम घटेको थिएन । प्याराफिटमा जति दर्शक आइरहेका थिए, त्यो भन्दा बढी दर्शकहरु बाहिर देखिन्थे ।
खेल दिउसो २ः३० बजे सुरु भयो । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेश मुक्तिजोद्याले सुरु भएको १७ मिनेटमा जनकपुर चुरोट कारखानाविरुद्ध एक शुन्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफको खेल सुरु भएको केही बेरमै मौसमले रुप परिवर्तन गर्न थाल्यो । झरी र हुरीले उग्ररुप लियो, केही बेरमै बितण्डा मच्चाउन सुरु गर्यो । हावा, पानी र असिना दर्कन थाल्यो । खेलिरहेको फुटबल समेत गुड्न कठिन हुन थाल्यो । त्यसपछि रेफ्रीले तत्काल खेल रोक्न सिटी फुके । बदलिंदो मौसमसँगै असिनाका ठुल्ठुल्ला डल्ला झर्न थाले । असिना र पानी दर्किएसँगै ओतको खोजीमा दर्शकको बाक्लो हुल मैदानतर्फ झर्यो । मैदानमा भागदौड सुरु भयो ।
दर्शकको भिडले मैदान प्रवेश गर्ने सम्पूर्ण ढोका बन्द गरिएका थिए । काँडेतारले मैदान छिर्न रोक लगाईएको थियो । साँघुरो एउटा ढोका मात्र खुल्ला गरिएको थियो, जहाँवाट एक पटकमा मुस्किलले एकजना छिर्न सकिन्थ्यो ।
त्यतिबेलाको रंगशाला अहिलेको नयाँ रंगशाला जस्तो ढलानले बनाइएको थिएन । सिट मुनिको बिम अहिलेको जस्तो थिएन । खुल्ला अवस्थामै थियो । बिम र पर्खाल बनाउन खाल्डाहरु बनाईएका थिए । भाग्ने क्रममा धेरै दर्शक त्यही खाल्डोमा परे । कतिले सोही बिममा च्यापिएर ज्यान गुमाए । सो भिडमा करिब ७३ जनाको ज्यान गएको बताईयो । जुन घटना नेपाली फुटबलकै कालो दिनको रुपमा रही रह्यो । त्यो घटनाले नेपालमा मात्रै नभइ पुरै विश्वलाई तरंगित बनायो ।
रंगशाला घटनाको तत्कालिन समयमा एन्फा अध्यक्षमा कमल थापा, महासचिवमा टिकाराम शाही, राखेप सदस्य सचिवमा शरद चन्द्र शाह र शिक्षा तथा संस्कृति मन्त्रीमा केशर बहादुर बिष्ट थिए । त्यही घटनाका कारण तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । (त्यतिबेला खेलकूद शिक्षा मन्त्रालय अन्तर्गत रहेको थियो ।)
जाउलाखेल क्लबबाट सोही प्रतियोगितामा सहभागी जनाएका राजुकाजी शाक्य सम्झिन्छन्, “हाम्रो टिम घटना भएको चार दिन अघि मात्र प्रतियोगिताबाट बाहिरिएको थियो । घटना भएको दिन फाइनल खेल थियो । त्यसैले म पनि खेल हेर्न जाने योजनामा थिएँ । तर खेल हारेको कारण मेरा साथीहरुले खासै जाने मन गरेनन् । फेरि त्यो दिन मौसम पनि त्यति राम्रो थिएन । झरी पर्ला जस्तो थियो । त्यसैले म रंगशाला नगई साथीहरुसँग जाउलाखेलमा बसिरहेको थिएँ । एक्कासी हावाहुरी, असिना पानी दर्किन थाल्यो । मलाई रंगशालाको घटनाको बारेमा बेलुका मात्र थाहा भयो । भोलीपल्ट बिहानै रंगशाला पुगें । अवस्था निकैनै दयनिय थियो । जताततै चप्पलै चप्पल छरिएको थियो । त्यो समयमा रंगशालाको एउटा मात्र गेट खोलिन्थ्यो । एउटा मात्र ढोका खुला भएको कारण सबै जना त्यही ढोकातर्फ दौडिने क्रममा धेरैको च्यापिएर, खुट्टा अड्किएर ज्यान गएको थियो” त्यस दिनको घटनाको बारेमा स्मरण गर्दै शाक्यले केन्द्रबिन्दुलाई बताए ।
घाइतेहरुको समयमा नै उपचार नहुँदा पनि धेरैको मृत्यु भएको थियो । घाइते भएका सबैलाई वीर अस्पताल पुर्याइएको थियो । तत्कालीन समयमा उपचारको राम्रो सुविधा थिएन । सबैलाई एकै स्थानमा पुर्याउँदा मृतकको संख्या बढेको थियो ।
विश्वभर भएका रंगशालाको दुर्घटनाको शीर्ष १० भित्र दशरथ रंगशालाको घटना पर्ने गरेको छ । घटनासँगै सरकारले मैदान, प्याराफिट, स्कोर बोर्ड, फ्लड लाईट बनाउने कामलाई तिब्रता दिएको थियो । तर जिम्मेवार निकायले थोरै सावधानी नअपनाउँदा फुटबल हेर्न आएका करिब ७३ दर्शकले रंगशाला परिसरमा मृत्युवरण गर्न पुगेका थिए । घटनाको आज ३२ वर्ष पूरा भएको छ । तर, फुटबल बृत्तका जो कोहीलाई त्यो घटनाको संझनाले अहिलेपनि स्तब्ध बनाउँछ ।





























प्रतिक्रिया