शानदार जितसँगै एट्लेटिकाेकाे १० अंककाे अग्रता

शानदार जितसँगै एट्लेटिकाेकाे १० अंककाे अग्रता

केन्द्रबिन्दु
0
Shares

एट्लेटिको म्याड्रिडले गएराति सम्पन्न स्पेनिस ला लिगामा सहज जित दर्ता गरेकाे छ । क्याडिजलाई उसकै मैदानमा ४–२ ले हराउदै एट्लेटिकोले १० अंककाे अग्रतासमेत लिएकाे छ ।

खेलको २८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । ३५औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा थोमस लेमारको पासमा सउल निग्वेजले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–१ ले अघि बढाए ।

५०औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई ३–१ ले अघि बढाए । थोमस लेमारमाथि पेनाल्टी बक्समा मोउरोले फल गरेपछि प्राप्त पेनाल्टीमा सुआरेज चुकेनन् ।

७१औं मिनेटमा अल्भारो नेग्रेडोले व्यक्तिगत दोस्रो गोल गर्दै क्याडिजलाई खेलमा फर्काउने संकेत दिदा खेल ३–२ को अवस्थामा ल्याएका थिए । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्जल कोरेयाको पासमा कप्तान कोकीले गोल गर्दै एट्लेटिकोलाई ४–२ को जित दिलाए ।

ला लिगामा २० खेलबाट एट्लेटिकोको ५० अंक पुगेको छ । २१ खेल खेलेको बार्सिलोना र रियलको समान ४० अंक छ । क्याडिज २४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

Logo