जब क्रिजमा सन्दीप र क्रिकेटका बादशाह क्रिस गेलको भेट भयो

जब क्रिजमा सन्दीप र क्रिकेटका बादशाह क्रिस गेलको भेट भयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार रातिको खेलमा एउटा रोचक दृश्य बन्यो । एकातिर भर्खर १८ वर्षमा प्रवेश गरेको केटो सन्दीप लामिछाने । अर्कोतिर क्रिकेट दुनियाँकै बादशाह क्रिस गेल । पछिल्लो समय उदियमान खेलाडीका रुपमा चिनिएका सन्दीपको लागि क्रिस गेलसँग सामना गर्नु फलामको चिउरा चपाउनु सरह थियो । तर उनले फलामै चिउरा चपाएर आफुलाई प्रमाणित गरेर देखाईदिए ।

यस सिजनको सुरुका २ खेलपछि लगातारमा ४ खेल खेल्ने मौका पाएका सन्दीपले सबै खेलमा विकेट लिए पनि महंगो बलिङ गरे । त्यसपछिका ३ खेलमा सन्दीप टोलीमा परेनन् । स्पीनरमैत्री मानिएको कोट्ला मैदानमा मुम्बईविरुद्धको खेलमा दुई जना मात्रै स्पीनर उतारेकोमा दिल्लीका कोच तथा कप्तानको आलोचना भयो ।

शनिबार पञ्जाबविरुद्धको खेलमा भने सन्दीपले मौका मात्रै पाएनन् महत्वपूर्ण तीन विकेट लिई आफूलाई सावित गरेर देखाए । कप्तानले उनीमाथि निकै भरोसा गरी दोस्रो ओभरमा नै बल थमाइ दिए । पञ्जाबका ओपनरद्वय लोकेश राहुल र क्रिस गेल निकै आक्रकम ब्याटिङ गरिरहे । पहिलो ओभरमा इशान्त शर्माले ३ रन मात्रै दिएका थिए । दोस्रो ओभरमा आएका सन्दीपमाथि राहुलले आक्रमण सुरु गरे । पहिलो बलमा सन्दीपमाथि छक्का हानेका राहुलले तेस्रो बलमा चौका हाने र चौथो बलमा उनी स्टम्पिङ आउट भए । यस ओभरमा गेलले बल फेस गर्ने मौका नै पाएनन् ।

त्यसपछि चौथो ओभरमा सन्दीप बलिङमा आउँदा स्ट्राइकमा थिए गेल । जुनसुकै बेला, जस्तासुकै बलरलाई पनि डोमिनेट गर्नसक्ने गेलविरुद्ध बलिङ गर्नु बलरका लागि हैरानी हो । आईपीएलमा पहिलो पटक उनको समाना गर्दै गरेका सन्दीपले पहिलो फेममै महत्वपूर्ण विकेट झार्न सफल भए ।

गेलले यस ओभरमा सन्दीपलाई डोमिनेट गर्दै ४ चौका हाने । सन्दीप निराश देखिए । दुई ओभरमा २७ रन दिएका सन्दीपलाई कप्तान अयरले १३ औं ओभरमा बल थमाइदिए । अगाडि ब्याटिङमा उनै क्रिस गेल थिए । उनले पहिलो बलमा नै छक्का प्रहारी गरी सन्दीपमाथि हाबी हुने संकेत देखाए । दोस्रो बलमा पनि गेलले कडा प्रहार गरे बाउन्ड्री नजिकै कोलिन इन्ग्राम र अक्सर पटेलले खतरनाक क्याच गरी गेललाई पेभिलियन फर्काए । गेलले सन्दीपको ८ बल फेस गर्दा २२ रन प्रहार गरे र सन्दीपकै बलमा आउट भए । सन्दीपले गेलको विकेट लिएपछि ठूलो स्कोरतर्फ लम्किरहेको पञ्चाबको ब्याटिङमा ब्रेक लाग्यो ।

सन्दीप लामिछाने जन्मिनुभन्दा १ वर्ष अगाडी सन १९९९ मा भारतविरुद्धको एकदिवसीय मार्फत गेल अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । सन्दीप जन्मेकै वर्ष सन २००० मा अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका थिए । आईपीएलमा गेलसँगको पहिलो भेटमा नै गेलकै विकेट लिनु सन्दीपका लागि एक ऐतिहासिक क्षण बन्यो । सन्दीप यस खेलमा ‘स्टालिस प्लेयर अफ दी म्याच’ बन्न सफल भए । गत वर्ष उनले गेलकै कप्तानीमा रहेको सान्ट किट्स एण्ड नेभिज प्याट्रियट बाट क्यारबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए । यस लिगबाट सन्दीपले ‘ब्रेक थ्रु स्टार’ अवार्ड जितेका थिए ।

Logo