काठमाडौँ
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ ।
‘क्रिएटिभ बुक्स’ले प्रकाशन गरेको क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्य, राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान निरा राजोपाध्यायले सार्वजनिक गर्नुभयो ।
‘क्रिएटिभ बुक्स’ले यसअघि भारत्तोलन खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ गतवर्ष बजारमा ल्याएको थियो । पहिलो राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हाल्नु भएको थियो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो ।
पुस्तकमा नेपाली क्रिकेटको इतिहास र समकालीन क्रिकेट खेलाडीको सङ्घर्षको कथा समेटिएको छ । सो पुस्तकले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न, जान्न र बुझ्न सघाउनेछ । नेपाली क्रिकेटमा देखिएको चरम विवाद, राजनीतिक हस्तक्षेप, आइसिसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि पुस्तकमा पढ्न पाइनेछ । दुई सय १५ पृष्ठको उक्त पुस्तकको मूल्य ४२५ तोकिएको छ ।
क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित शुरुआत, विकास र विस्तारको नेतृत्वसमेत गर्नुभएको थियो । उहाँकै नेतृत्वमा बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको छ । पुस्तक विमोचन कार्यक्रममा लेखक तथा पुर्वकप्तान क्षेत्रीले नेपाली खेलकूद अभिलेखीकरणमा निकै कमजोर रहेको र त्यसलाई पूर्ति गर्ने अभियानमा लागेका बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो आत्माले जे देख्यो त्यो पुस्तकमा लेखेको छु, जुन कुरा मैले बुझेँ र देखेँ त्यो कुरालाई लिपिबद्ध गर्ने जमर्को गरेको छु ।” साहित्यकार नयनराज पाण्डेले साहित्यले समाजलाई जोड्न नसक्ने तर खेलकुदले सिङ्गो समाजको भावनालाई जोड्ने विचार व्यक्त गर्नुभयो । उहाँले मानिसको जीवन पनि क्रिकेट खेल जस्तो रहेको र एक इनिङ हार तथा अर्को इनिङमा जित हुने बताउनुभयो ।
रासस





























प्रतिक्रिया