२० स्वर्णसहित नेपाल कराते च्याम्पियन

२० स्वर्णसहित नेपाल कराते च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतको मुम्बईमा सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन बनेको छ । पुष ७ र ८ गते सम्पन्न खेलमा नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानको टिम काता र कुमेत तर्फ गरि २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे ।

उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सियिर तर्फको कातामा गरि तीन स्वर्ण हात पारेको नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले मुम्बईबाट जानकारी दिए ।

राष्ट्रको लागि स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरि दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यु –१४ काता दुवैमा स्वर्ण हात पारे ।

यस्तै दुई स्वर्ण हात पार्नेमा अश्मिता राई, रश्मी पाण्डे, बिमला नेपाली र हृषभ राज गिरी रहेका छन् । अश्मिताले ५५ केजी कुमिते र यु –१५, रश्मीले ४५ केजी कुमिते र यु –१६ काता, बिमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यु–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे ।

सूर्य बिक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यु–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए ।

यसैगरि सिनियर तर्फ अंकित गुरुङ्गले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएका हुन् ।

नेपाल खेलकुद बिज्ञान प्रतिष्ठाने २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउन पहिलो पटक प्रतियोगितामा सहभागिता गराएको हो ।

नेपाली टोलीले पहिलो सहभागितामा नै यती राम्रो नतिजा हात पार्न सफल भएको नेपाली टोली नेता सानका उपनिर्देशक एवं कराते प्रशिक्षक तुलसी कुमार महर्जनले बताए ।

मुम्बई गएको टोलीमा खेलाडीका अलावा प्रशिक्षकमा रामकृष्ण खड्गी, निर्णायकमा एशियन प्यासिफिक तथा सितेरियो कराते रेफ्रि रविन्द्र मानन्धर, रेफ्रि उमेश गुरुङ्ग र सचिन चौलागाई तथा अफिसियलमा बिकास विक्रम शाह रहेका थिए ।

Logo