तीन विश्वकप लगातार गुमायो इटाली, बोस्नियाको ऐतिहासिक प्रवेश

तीन विश्वकप लगातार गुमायो इटाली, बोस्नियाको ऐतिहासिक प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । युरोपियन फुटबलको शक्तिशाली टोली मानिने इटाली फेरि विश्वकप बाहिरिएको छ। बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा हार व्यहोरेपछि चारपटकको विश्व च्याम्पियन इटालीले लगातार तेस्रो पटक विश्वकप गुमाएको हो।

यसअघि २०१८ (रुस) र २०२२ (कतार) मा पनि छनोट हुन नसकेको इटालीका लागि यो हार थप निराशाजनक बनेको छ। खेलमा सुरुआती अग्रता लिए पनि रातो कार्डपछि कमजोर बनेको टोलीले अन्ततः दबाब धान्न सकेन।

मोइज केनको गोलबाट अघि बढेको इटाली बास्टोनी बाहिरिएपछि १० खेलाडीमा सीमित भयो। त्यसपछि बोस्नियाले खेल नियन्त्रणमा लिँदै अन्तिम समयमा बराबरी गोल फर्कायो र खेल पेनाल्टीमा पुग्यो। सुटआउटमा भने इटालीका प्रहार चुक्दा बोस्नियाले सबै अवसर सदुपयोग गर्दै जित पक्का गर्‍यो।

यो जितसँगै बोस्निया–हर्जेगोभिनाले आफ्नो इतिहासमा दोस्रो पटक मात्र विश्वकपमा स्थान बनाएको छ। अनुभवी कप्तान एडिन जेकोको नेतृत्वमा टोलीले उल्लेखनीय सफलता हासिल गरेको हो।

हारपछि इटालीका प्रशिक्षक जेन्नारो गट्टुसोले परिणामलाई अत्यन्त पीडादायी भन्दै स्वीकार गरेका छन् भने फुटबल महासंघले पनि देशको फुटबल गम्भीर संकटमा परेको संकेत दिएको छ।

Logo