फिफा विश्वकप २०२६ : अफ्रिकी चम्किए, एसियाली फितलो

फिफा विश्वकप २०२६ : अफ्रिकी चम्किए, एसियाली फितलो

केन्द्रबिन्दु
15
Shares

एटलान्टा । केप भार्डे अहिले स्वप्निल यात्रामा छ । विश्वकप २०२६ मा टोलीको अबको प्रतिद्वन्द्वी रहनेछ, लियोनल मेसीको अर्जेन्टिना । यो विश्वकपमा अफ्रिकी देशले लिग चरणमा गरेको सानदार प्रदर्शनको त यो सानो अंशमात्रै हो भन्दा हुन्छ । यसपल्टको विश्वकपमा ४८ टिमको दायरामा फैलाइएपछि कीर्तिमान १० अफ्रिकी देश सहभागी थिए ।

त्यसमध्ये ट्युनिसिया मात्र त्यस्तो अभाग्यशाली टिम रह्यो, जसलाई घर फर्किनुपर्‍यो । अन्य सबै अन्तिम ३२ को चरणमा पुगे । स्पेन, इंग्ल्यान्ड, पोर्चुगल र ब्राजिल प्रतियोगिता अगाडि उपाधिका प्रत्याशी थिए तर यी सबै टिम अफ्रिकी विपक्षी टिमलाई हराउन सफल भएनन् । अल्जेरियाली स्टार रियाद मेहराज भन्छन्, ‘अहिलेको विश्वकप प्रदर्शनले देखाउँछ, अफ्रिकी फुटबलको स्तर कति माथि पुगेको छ ।’

उनी भन्छन्, ‘अहिले दसमध्ये नौ अफ्रिकी टिम अन्तिम ३२ पुगेका छन् । यसको विशेष अर्थ छ ।’ विशेषतः केप भार्डेको अविश्वसनीय यात्राले विश्वकपलाई अझ बृहत बनाउने फिफाको निर्णय सही पनि देखिएको छ । नत्र अधिकाश आलोचकको आरोप थियो, फिफाको एकमात्र उद्देश्य बढीभन्दा बढी आर्थिक उर्पाजन गर्नु मात्र रहेको हुन्छ ।

केभ भार्डे नै विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो देश भएको छ । त्यो जनसंख्या र क्षेत्रफल दुवै आधारमा । टोलीले आफ्नो पहिलो र डेब्यु खेलमै स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । टिमका ४० वर्षीय गोलरक्षक भोजिन्हा एकाएक विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडी बनेका छन् । उनको अब इन्स्ट्राग्राममा पछ्याउनेको संख्या एक करोड ७० लाख पुगेको छ ।

यही टिमका कारण दुईपल्टको पूर्व विजेता उरुग्वे र सन् २०३४ को विश्वकप आयोजक रहने साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिनुपरेको छ । ट्युनिसियाको प्रदर्शन भने वास्तवमै अपवाद रह्यो । यो टिम तीनै खेलमा मात्र पराजित रहेन, टोलीले १२ गोल पनि खाएको थियो । डीआर कंगोका प्रशिक्षक सेवास्टिन डेसाब्रे भने अफ्रिकी टिमको यो प्रदर्शनलाई लिएर आश्चर्य मानिरहेका छैनन् ।

उनी भन्छन्, ‘अफ्रिकी टिमसँग मैले जोडिएर काम गरेको पनि १५ वर्ष भयो । मलाई लाग्छ, अफ्रिकी देशका फुटबल संघ अहिले व्यवस्थित हुन थालेका छन् । यसै कारण खेलाडीको प्रदर्शनमा पनि सुधार आएको छ । मलाई के लाग्छ भने अफ्रिकी टिमको यो प्रगति रोकिने पनि छैन । मलाई लाग्छ, अफ्रिकी टिमको प्रदर्शनमा भविष्यमा अझ सुधार हुनेछ ।’

प्रशिक्षक डेसाब्रेका लागि अफ्रिकी टिमको अझ सुधारिएको प्रदर्शन समयको खेलमात्र हुनेछ । मोरक्कोले त झन विश्वकप उपाधि जित्ने सपनासमेत बुनेको छ । टोलीका प्रशिक्षक मोहम्मद क्वहबी भन्छन्, ‘हामीले आफ्नो उद्देश्यमा केन्द्रित गरेर मिहिनेत गर्नुपर्छ । अब त हाम्रो लक्ष्य विश्वकप जित्नु नै हुनुपर्छ जस्ता लाग्छ ।’

उनको थप तर्क छ, ‘अहिले मोरक्को टिमले विश्व फुटबलमा नयाँ आयाम थपेको छ । अब हाम्रा समर्थकले टिममा विश्वास मात्र गर्दैनन्, विपक्षी टिमले पनि अब हामीमाथि सम्मान देखाउन थालेको छ ।’

यसपल्ट कुरासाओ जस्तो टिमले समेत राम्रो प्रदर्शनको इतिहास बनाएको छ । प्रतियोगितामा टोलीको चुनौती सकिएको छ, तर टोलीले इक्वडेरलाई गोलरहित बराबरीमा रोकेको बिर्सनुहुन्न ।

यसको ठीक विपरीत विश्वकपमा एसियाली टिमको प्रदर्शन भने असाध्यै कमजोर रह्यो । अफ्रिकी टिम अगाडि बढ्दै गर्दा एसियाली टिम भने पछाडि परेका छन् । जापान र अस्ट्रेलियालाई छाडेर अन्य कुनै पनि एसियाली टिम नकआउट चरण पुग्न सकेन । जोर्डन र उज्वेकिस्तानले विश्वकपमा डेब्यु त गरे तर दुवैले एक अंक पनि बटुल्न सकेनन् । चेक गणतन्त्रलाई हराए पनि मेक्सिको र दक्षिण अफ्रिकासँग पराजित भएपछि दक्षिण कोरिया तेस्रो स्थान रहेर पनि छनोट हुन सकेन ।

अघिल्लो संस्करण्को आयोजक कतार एक मात्र अंक बटुलेर बाहिरिएको थियो । स्विट्जरल्यान्डलाई १–१ ले बराबरीमा रोकपछि कतारले क्यानडासँग ६–० र बोस्नियासँग ३–१ को हार बेहोरेको थियो । तेस्रो स्थानको आठभित्र पर्ने लक्ष्यमा रहेको इरानको सपना तुहियो । तीनै खेल बराबरी खेल्ने क्रममा इरानले बेल्जियम, इजिप्ट, न्युजिल्यान्डसँग अंक खोसेको थियो । स्पेनसँग पराजित साउदीले केप भार्डे र उरुग्वेसँग बराबरी खेलेको थियो ।

फ्रान्स, नर्वे र सेनेगल जस्ता टिमको समूहमा परेपछि इराकले १२ गोल खान बाध्य भयो । कम्तीमा अफ्रिकी टिमकै राम्रो प्रदर्शनले अबका विश्वकपमा सहभागी हुने टिमको संख्या ६४ पुर्‍याउनुपर्ने माग पनि बढ्न थालेका छन् । लिग चरणका खेलले यसअघिका विश्वकपको तुलनामा यसपल्ट प्रतिस्पर्धाको स्तर बढेको पनि देखाएको छ ।

Logo