अमेरिकी सर्वोच्च अदालतद्वारा जन्मसिद्ध नागरिकताको अधिकार कायम, ट्रम्पको प्रयास असफल

अमेरिकी सर्वोच्च अदालतद्वारा जन्मसिद्ध नागरिकताको अधिकार कायम, ट्रम्पको प्रयास असफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मिने शिशुहरूको जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार कायम राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त अधिकार सीमित गर्ने प्रयासलाई असफल बनाइदिएको छ ।

बहुमतबाट भएको फैसलामा प्रधानन्यायाधीश जोन रोबट्र्सले अमेरिकामा गैरकानुनी वा अस्थायी रूपमा बसोबास गरिरहेका अभिभावकबाट जन्मिएका बालबालिका समेत अमेरिकी संविधानको १४औँ संशोधनअनुसार जन्मसिद्ध नागरिक हुने स्पष्ट पारे ।

ट्रम्पले कार्यकारी आदेशमार्फत जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्न खोजेका थिए । कागजातविहीन आप्रवासी र केही अस्थायी आगन्तुकका सन्तान अमेरिकी संविधानमा उल्लेख गरिएको अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने भएकाले उनीहरू स्वतः नागरिक हुन हुँदैन भन्ने उनको तर्क थियो ।

अदालतको यो निर्णयलाई ट्रम्पको आप्रवासन नीतिका लागि ठूलो झट्का मानिएको छ । नागरिक अधिकारवादी संस्थाहरूले यसको स्वागत गरेका छन् । फैसलापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अदालतको निर्णयलाई धेरै नराम्रो भन्दै जन्मसिद्ध नागरिकता अन्त्य गर्न कानुन निर्माणमार्फत प्रयास जारी राख्ने बताएका छन् ।

उनले लेखेका छन्, “यसका लागि लामो र जटिल संवैधानिक संशोधन आवश्यक छैन । कंग्रेसले आजैदेखि देशका लागि खर्चिलो र अन्यायपूर्ण बनेको जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने प्रक्रिया सुरु गर्नुपर्छ ।”

अमेरिकाले सन् १८६८ देखि देशमा जन्मिने सबैलाई नागरिकता प्रदान गर्दै आएको छ । यो अधिकार अमेरिकी संविधानको १४औँ संशोधनमा सुरक्षित गरिएको छ, जसलाई सर्वोच्च अदालतका विभिन्न फैसलाहरूले थप मजबुत बनाएका छन् ।

अमेरिकी गृहयुद्धपछि पारित गरिएको उक्त संशोधनमा भनिएको छ, “अमेरिकामा जन्मिएका वा अंगीकृत भएका र यसको क्षेत्राधिकारअन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्य अमेरिकाका नागरिक हुन् ।”

बहुमतको राय लेख्दै प्रधानन्यायाधीश रोबट्र्सले नागरिकतालाई व्यक्तिको राजनीतिक समुदायमा पूर्ण सहभागिताको आधारभूत अधिकारका रूपमा व्याख्या गरेका छन् । उनले लेखेका छन्, “नागरिकता भनेको विगत र वर्तमान दुवैसँग जोडिएको अधिकार हो । चौधौँ संशोधनका मस्यौदाकारहरूले यो अधिकार अमेरिकामा स्वतन्त्र रूपमा जन्मिने सबै व्यक्तिसम्म विस्तार गरेका थिए । हामी आज त्यही वाचा पूरा गर्छौं ।”

सर्वोच्च अदालतका तीनजना न्यायाधीश क्लेरेन्स थोमस, नील गोर्सच र स्यामुएल अलिटोले बहुमतको निर्णयसँग असहमति जनाएका छन् । न्यायाधीश थोमसले १४औँ संशोधनलाई यसको मूल उद्देश्यभन्दा फरक रूपमा व्याख्या गरिएको टिप्पणी गरेका छन् । अर्का न्यायाधीश स्यामुएल अलिटोले यो निर्णयलाई गम्भीर गल्ती भन्दै यसले अमेरिका केवल बच्चा जन्माउन आउने व्यक्तिका सन्तानलाई समेत नागरिकता दिने बाटो खुला राखेको बताएका छन् ।

यो मुद्दा ट्रम्प प्रशासनका लागि अत्यन्त महत्वपूर्ण मानिएको थियो । ट्रम्प स्वयं पनि गत अप्रिलमा सर्वोच्च अदालतमा भएको बहस सुन्न उपस्थित भएका थिए । ह्वाइट हाउसका प्रमुख कर्मचारी स्टीफन मिलरले सामाजिक सञ्जाल एक्समार्फत यो निर्णयलाई सर्वोच्च अदालतको इतिहासकै सबैभन्दा विनाशकारी र अपमानजनक निर्णयहरूमध्ये एक बताएका छन् ।

डेमोक्रेट नेता हकिम जेफ्रिजले सर्वोच्च अदालतले अमेरिकामा जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुने संवैधानिक सिद्धान्तलाई पुनः पुष्टि गरेको बताएका छन् । लयर्स कमिटी फर सिभिल राइट्स अन्डर ल की मुख्य कानुनी सल्लाहकार डारिएली रोड्रिगेजले अभिभावकको कानुनी हैसियत जस्तोसुकै भए पनि अमेरिकी भूमिमा जन्मिने प्रत्येक व्यक्ति अमेरिकी नागरिक हुने सिद्धान्तलाई अदालतले थप मजबुत बनाएको प्रतिक्रिया दिएकी छन् । बीबीसी

Logo