जर्मन प्रशिक्षक बन्ने क्लोपको इच्छा

जर्मन प्रशिक्षक बन्ने क्लोपको इच्छा

केन्द्रबिन्दु
0
Shares

फ्रान्कफर्ट । योर्गन क्लोपले जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न आफू ‘इच्छुक’ रहेको जर्मन एफए (डीएफबी) लाई बताएका छन्। डीएफबीले शुक्रबारै वर्तमान जर्मन प्रशिक्षक जुलियन नागेल्समनले राजीनामा दिएको जनाएको थियो।

नागेल्समनको अनुबन्धन २०२८ सम्म रहेको छ। जर्मनी विश्वकपको अन्तिम ३२ को प्रतिस्पर्धामा पाराग्वेसँग पराजित भएको केही समयपछि नागेल्समनले शुक्रबार राजीनामा दिएका थिए। डीएफबीको विज्ञप्तिमा लिभरपुल र बोरुसिया डर्टमन्डका पूर्वप्रशिक्षक क्लोपसँग वार्ता अगाडि बढेको जनाउँदै ३ वर्षे कार्यकालका लागि नागेल्समनलाई धन्यबाद दिएको जनाएको छ।

लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि दिलाएका क्लोप अहिले रेड बुलका ग्लोबल फ्टुबल प्रमुखका रूपमा अनुबन्धित छन् । तर स्काई जर्मनीले जनाएअनुसार क्लोपले जर्मनीको प्रशिक्षक बन्न इच्छुक रहेका छन्। ३८ वर्षे नगेल्समनले राजीनामा दिनुअघि डीएफबीको मुख्यालय फ्रान्कफर्टमा आफ्नो भविष्यलाई लिएर साढे ३ घन्टा छलफल गरेका थिए।

जर्मन ट्याब्लोइड बिल्डले जनाएअनुसार नागेल्समनलाई ८० लाख यूरो क्षतिपूर्ति रकम प्रस्ताव गरिएको थियो, जुन उनको एक वर्षको पारिश्रमिक हो। ‘निर्णय जे पनि हुन सक्थ्यो, तर मलाई सजिलो थियो निर्णय गर्न,’ उक्त विज्ञप्तिमा नागेल्समनले भनेका थिए, ‘टिमलाई सफलता दिलाउनु मेरो प्रमुख प्राथमिकता हो, तर यस्तो निराशाजनक अवस्थामा नयाँ सुरुआत हुन जरुरी छ।’

उनले जर्मनी विश्वकपबाट चाँडो विदा भएकोमा समर्थकसँग माफी मागेका छन्। ‘तपाईहरूलाई निराश बनाएकोमा हृदयदेखि नै माफी माग्दछु, विश्वकप फुटबलमा कुनै स्मरणीय रात हामीले दिन सकेनौं,’ उनले भने। डीएफबीका स्पोर्टिङ डाइरेक्टर रुडी भोलरले विज्ञप्तिमा नागेल्समनबारे भनेका छन्, ‘उनी एक उत्कृष्ट प्रशिक्षक हुन् र रहिरहन्छन्। उनले आफ्नो सफलताको बाटो जारी राख्नेमा म विश्वस्त छु।’

पाराग्वेसँगको पराजय चार पटकको च्याम्पियन जर्मनीका लागि पछिल्लो धक्का हो। यसअघि २०१८ मा रुस र २०२२ मा कतार विश्वकपमा पनि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। जर्मनीले युरोपियन च्याम्पियनसिपमा पनि राम्रो प्रदर्शन देखाउन सकिरहेको छैन। सन् २०२१ मा जर्मनी अन्तिम १६ मा इंग्ल्यान्डसँग तथा २०२४ मा घरेलु मैदानमा विजेता बनेको स्पेनसँग पराजित भएको थियो।

विश्वकपलगत्तै नागेल्समनलाई बिदाइ गरेपछि डीएफबीले २०१८ र २०२२ को स्थिति दोहोरिन नदिन असफल प्रशिक्षकलाई धेरै समय राख्न नहुने महसुस गरेको छ। जोचिम लोले २०१४ मा जर्मनीलाई विश्व च्याम्पियन बनाएको थियो। तर २०१८ को विश्वकपमा पहिलो चरणबाटै बाहिरि पनि उनलाई अर्को तीन वर्ष राखिएको थियो। हान्से फ्लिक २०२२ मा असफल भएपछि उनलाई थप एक वर्ष मौका दिइएको थियो।

नागेल्समनको नियुक्तिलाई डीएफबीले सुरुमा ठूलो सफलता मानेको थियो, किनभने त्यतिखेर उनलाई लिन युरोपका क्लबहरू चाहिरहेका थिए। २८ वर्षको उमेरमा होफेनहेमलाई व्यवस्थापन गरेपछि उनी बुन्डेसलिगाको इतिहासमा सबैभन्दा कान्छो प्रशिक्षक बनेका थिए। उनले अन्य जर्मन टोलीहरू बायर्न म्युनिख र आरबी लाइप्जिगलाई पनि प्रशिक्षण दिएका छन्।

नागेल्समनले सुरुमा युरो २०२४ का लागि भनेर छोटो सम्झौता गरेका थिए। प्रतियोगिता सुरु हुनुअघि उनले यो सम्झौता बढाएका थिए भने जनवरी २०२५ अर्को पटक नवीकरण गर्दै युरो २०२८ सम्म नवीकरण गरेका थिए। युरो २०२४ मा समूह चरणका खेल जिते पनि स्पेनसँग क्वाटरफाइनलमा पराजित भएपछि जर्मनीले नागेल्समनको नेतृत्वमा टिममा सुधार आइरहेको महसुस गरेको थियो।

Logo