काठमाडौं ।
आईपीएल अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १२० रन जोडेको थियो ।
बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे।हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २,२ विकेट लिए ।
जितसँगै हैदराबाद १३ खेलमा १२ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । उसले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।
दोस्रो स्थानमा रहेको बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोरले अन्तिम खेल दिल्ली क्यापिटल्ससँग खेल्नेछ । अब बैंगलोर र दिल्लीमध्ये विजेता एक टोली मात्र प्लेअफमा पुग्नेछ ।





























प्रतिक्रिया