जयदेव गौतम । काठमाडौं, १० साउन ।
नेपाल फेरि एकपटक अफगानिस्तानका सामु निरीह देखिएका छ । सिनियर लेभलमा जस्तै जुनियर लेभलमा पनि अफगानिस्तान नेपालका नेपाली टोलीका लागि दुःस्वप्न साबित भइरहेको छ । अगिल्ला म्याचहरूमा जस्तो सन्दिप लामिछानेको लेग स्पिनले अफगानिस्तानविरुद्ध प्रभाव जमाउन सकेन । अलराउन्डर दीपेन्द्र सिंह ऐरीबाहेक आज कुनै नेपाली ब्याट्सम्यान चल्नै सकेनन् ।
यही क्रमको निरन्तरतामा मंगलबार नेपालले सिंगापुरमा भइरहेको आइसिसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा ९६ रनको विशाल अन्तरले पराजित भयो । पराजयसँगै नेपालका लागि आउँदो यु–१९ विश्व कप खेल्ने सम्भावना पनि अन्त्य भएको छ ।
यसअघि यसै प्रतियोगिताको पहिलो खेलमा पनि अफगानिस्तानले नेपाललाई १४१ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
फेरि एकपटक नेपाललाई पछाडि पार्दै अफगानिस्तान भने आगामी २०१८ मा न्यूजिल्याण्डमा हुने यू(१९ विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४०।६ ओभरमा ९९ रन जोड्दा अलआउट भएको थियो ।
नेपाली टोलीका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । पाँचौं नम्बरमा आएका दीपेन्द्रले ८१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
नेपालको सुरुआत राम्रो रहेन । ५।२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रूपमा सन्दिप सुनारलाई व्यक्तिगत ६ रनमा गुमायो । लगत्तै अर्को ओभरमा आशिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए । प्रनित थापामगर शून्यमै फर्किए भने अनिल साह पनि ६ रनमै आउट भए ।
यसरी नेपालले १०।४ ओभरमा केवल २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । तर मलेसियाविरुद्ध राम्रो रन बनाएका रोहित कुमार पौडेल पनि ३ रन मात्र आउट भए ।
बरु पाचौं नम्बरमा आएका ददीपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरे । त्यसपछि भने पवन १० र दीपेन्द्र ४८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपालको सम्भावना करिब समाप्त भएजस्तै भयो ।
त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले १० रन, कप्तान सन्दिप लामिछानेले २ र शाहब आलमले २ रन (अविजित) बनाए ।
अफगानिस्तानका युसुफ जाजीले ४ र मुजिब रहमानले ३ विकेट लिए ।
त्यसअघि अफगानिस्तानले इब्राहिम जादरानको सानदार शतकको मदतमा ४६।५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।
जादरानले ११४ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १०१ रन बनाए । उनीपछि इकराम फैजीले २४ र नाभिद ओबिडले २२ रन बनाए ।
नेपालका लागि शाहब आलमले ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ३ तथा सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक–एक विकेट लिए ।
अफगानिस्तानका सामु नेपालको बलिङ र ब्याटिङ कुनै पनि कुरा चल्न सकेन । नेपालले यी दुवै पक्षमा आफूलाई दह्रो गरी सुधार्नुपर्ने पाठ आजको पराजयले दिएको छ ।































प्रतिक्रिया