महिला लिग: रुथको ह्याट्रिकमा वालिङको सहज जित

महिला लिग: रुथको ह्याट्रिकमा वालिङको सहज जित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा  वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको हो ।

वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काइन् ।

खेलको २५ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ३२ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीलाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । खेलको ३३ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङले २–१ को अग्रता बनायो ।

खेलको ४४ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा वालिङ ३–१ ले अघि रह्यो । दोस्रो हाफमा वालिङले थप चार गोल थप्दै वालिङले ७–१ को सहज जित निकाल्यो ।

लिगमा यो वालिङको चौंथो जित हो ।  जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ । वालिङ लिगको तेस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार नवौं हार हो । अंकविहीन चौदण्डी पुछारमा रहेको छ ।

Logo