काठमाडौं ।
आइपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई मुम्बई इण्डियन्सले १० विकेटले पराजित गरेको छ । आइपीएलको इतिहासमा चेन्नई सुपर किंग्स १० विकेटले हारेको यो पहिलो पटक हो ।
चेन्नईले दिएको ११५ रनको सामान्य लक्ष्य मुम्बईले १२.२ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्न सफल भयो । उसका लागि इशान किशनले अविजित ६८ र क्विन्टन डीकलले नटआउट ४६ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो । उसका लागि युवा अलराउन्डर साम करनले राम्रो ब्याटिङ गरे । उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए । त्यस्तै, कप्तान महेन्द्रसिंह धोनीले १६, शार्दुल ठाकुरले ११ र इमरान ताहिरले नटआउट १३ रन बनाए ।
जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । उसले १० खेलमा तीनमा हार र ६ खेलमा जित हासिल गरेको छ । मुम्बईले तालिकामा १४ अंक जोडेको छ ।
दिल्ली र आरसीबी पनि समान १४ अंक भए पनि मुम्बई नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईसँगको हारसँगै चेन्नई सुपर किंग्सको ‘प्लेअफ’पुग्ने सम्भावना भने निकै कमजोर देखिएको छ ।





























प्रतिक्रिया