विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो।
ढोरपाटनविरुद्ध एपीएफले २५–३, २५–९ र २५–५ को सेटमा जीत निकाल्यो। ढोरपाटनविरुद्ध एकतर्फी जीत निकालेसँगै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ। ढोरपाटनको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा ढोरपाटन न्यु डाइमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डायमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् । यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन्।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७५ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ। प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्। उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।





























प्रतिक्रिया