आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्ने भएका छन्। तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन्।
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ । टोलीको हवाइ टिकट÷खान÷बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एनआरएनसँग सम्पर्क गरिदिने प्रतिबद्धता जनाउँदै तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले तालिममा नेपालले लगातार तेश्रोपटक सहभागिता जनाउन लागेको बताउँदै ख्याती प्राप्त जुडो प्रशिक्षकले सहभागीलाई तालिम दिने जानकारी गराए।
दुवै खेलाडीलाई यु–१८ उमेरसमूह अन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन्।





























प्रतिक्रिया