नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी अब प्रयोग नगर्ने निर्णय गरेको हो ।
पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको क्यानले जनाएको छ । ३४ वर्षीय अलराउण्डर पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।
१७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पारसले नेपाली क्रिकेट लेजेण्डको रुपमा आफूलाई स्थापित गरेका थिए । पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए ।
पारसले २२ वर्षको उमेरमा सन् २००९ मा राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारी पाएका थिए । उनले २०७६ असोज २८ गते कप्तान पद छाडेका थिए ।
पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी–ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् । पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।
नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भएका थिए । पारसकै कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।





























प्रतिक्रिया