आईसीसी टी-ट्वान्टी विश्वकपः इंग्ल्याण्डको लगातार दोस्रो जीत

आईसीसी टी-ट्वान्टी विश्वकपः इंग्ल्याण्डको लगातार दोस्रो जीत


इंग्ल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ। बुधबार भएको समूह-१ को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो। 

जीतका लागि १२५ रनको सामान्य विजयी लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। इंग्ल्यान्डको जीतमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए। डेविड मलान २८ रनमा अविजित रहे। 

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १-१ विकेट लिए।

आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो। बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए। कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे। 

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए। इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो। 

इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ। समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन्। यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन्। 

यता, सुपर- १२ को समूह-२ मा पाकिस्तान दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ।

Logo