विम्बल्डन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि शनिबार साँझ ट्युनिसियाकी ओन्स जाबेउर र काजकिस्तानकी एलिना रिबाकिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबै पहिलो पटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।
जाबेउर सन् १९६० पछि ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो अफ्रिकन महिला हुन् भने रिबाकिना अरेबियन देशबाट ग्राण्डस्लामको फाइनलमा पुग्ने एकमात्र महिला खेलाडी हुन् । यसैले पनि दुबैका लागि उपाधि महत्वपूर्ण छ । तेस्रो वरीयाताकी जाबेउर गतवर्षको विम्बल्डन र सन् २०२० को अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।
१७औं वरीयाताकी रिबाकिनाले गत वर्ष फ्रेन्च ओपनको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
बिहीबार भएको सेमिफाइनलमा रिबाकिनाले पूर्व नम्बर वन रोमानियाकी सिमोना हेलेपलाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी थिइन् । हेलेपलाई हराउन उनले मात्र एक घण्टा १६ मिनेट लगाएकी थिइन् ।
अर्को सेमिफाइनलमा तात्जना मारियालाई ६–२, ३–६ र ६–१ को नतिजामा हराउँदै जाबेउर उपाधि नजिक पुगेकी हुन् । प्रतिस्पर्धात्मक उक्त खेलमा २७ वर्षे जाबेउरलाई जित निकाल्न पौने २ घण्टा कोर्टमा संघर्ष गर्नु परेको थियो ।
आजको खेलमा विजयी हुने खेलाडीले उपाधिसँगैं २० लाख युरो पनि पाउने छन् ।
पुरुष एकल तर्फको उपाधिका लागि शीर्ष वरीयाताका नोभाक जोकोभिच र अस्ट्रेलियन निक किग्रिओसबीच आइतबार खेल हुनेछ ।





























प्रतिक्रिया