ठमेलमा इन्टरनेटको तार काट्‍नेविरुद्ध उजुरी दर्ता

ठमेलमा इन्टरनेटको तार काट्‍नेविरुद्ध उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ठमेलमा बिना जानकारी इन्टरनेटको तार काट्‍नेविरुद्ध इन्टरनेट सेवा प्रदायक संघ (आइएससपान) ले महानगरी प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेको छ।

आइएसपानका अध्यक्ष भोजराज भट्टका अनुसार पर्यटकीय नगरी ठमेलमा बिना जानकारी नै इन्टेरनेटको तार र अप्टिकल फाइबरको तार काट्‍ने पर्यटन विकास समितिविरुद्ध दूर सञ्‍चार प्राधिकरण ऐन दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ अनुसार उजुरी दर्ता गरेको हो।

भट्टले भने, इन्टरनेट सेवा प्रदायकहरुलाई एक वचन पनि नसोधी अथवा दूरसञ्‍चार प्राधिकरणलाई समेत कुनै जानकारी नै दिइकन तार काट्नु गैर जिम्‍मेवारी हो। यसैको लागि हामीले प्रहरीमा उजूरी दिएका हौ।

उनले समिति विरुद्ध आज सोमबार पनि अपराध महाशाखा र मन्त्रालयसँगको छलफलपछि उजुरी दिएको बताउँदै इन्टरनेटमा चरम लापरबाही हुँदै गएकाले उजुरी गरेको बताए। उनले भने, आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव स्तरीय छलफल गर्‍यो। त्‍यसपछि आइएसपानको हाम्रो टोली टेकु पुगेर उजुरी दर्ता गरेको हो।

उनका अनुसार दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा अत्यावश्यक सेवा दूरसञ्चारको लाइन, प्रणाली वा संरचनामा नोक्सानी पुर्‍याएको अवस्थामा जरिवाना तथा पाँच वर्षसम्मको कैद सजायको व्यवस्था रहेको छ। सोही प्रावधानको आधारमा टेकेर उजुरी दिएको बताउँदै भने, अब सोमबार पनि छलफल गर्छौ र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा छौं ।

गत आइतबारदेखि पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा पूरै ठप्प छ। भिजिट नेपाल २०२० को तयारीका क्रममा पोलमा झुण्ड्याइएका तार आफुखुसी हटाउने क्रममा अप्टिकल फाइबर समेत काटिएको थियो। त्यसैको परिणामस्वरुप उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द भएको हो।

ठमेल पर्यटन विकास समितिको लापरबाहीपूर्ण कार्यबाट नेपाल टेलिकम, वर्ल्डलिङ्क, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध भएको भनिएता पनि त्यसको आधिकारिक जानकारी नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग समेत छैन्। त्यसैले अनुसन्धानका लागि एफआईआर दर्ता गरिएको अध्यक्ष भट्टले बताए।

भट्टका अनुसार बिना जानकारी तार काट्दा झन्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैले क्षतिपुर्तिको सुनिश्चितता नहुँदासम्म उक्त क्षेत्रमा आफुहरु सेवा पुनः सुचारु गर्न असमर्थ रहेको उनको भनाई छ।

Logo