काठमाडौं । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले यो एप्लिकेसनको सुरुवात गरेको हो।
अब स्मार्ट दाई एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङमेसिन, फिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरु सजिलै प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।
यस एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्नेछ । उक्त एप्लिकेसन प्लेस्टोर तथा एपस्टोरबाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिन्छ । साथै यसको वेबसाइट खोली डेक्सटपबाट पनि यो सेवा प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

यस एप्लिकेसनको प्रयोगबाट विशेष गरी सहरी क्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो छरितो बनाई प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।

सूचना प्रविधि कम्पनीको रुपमा २०५० सालमा स्मार्ट दाई लिमिटेडको स्थापना एक पब्लिक कम्पनीको रुपमा भएको हो। यस कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं ३ मा रहेको छ। स्थापनाको छोटो समयमै यसले स्मार्ट दाइ नामक एप्लिकेसन विकास गरेको छ। यस स्मार्ट दाई एपलाई निरन्तर रुपमा परिमार्जन गरी प्रयोगकर्तामैत्री र विश्वसनीय बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जनाएको छ।





























प्रतिक्रिया