काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबारको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक एवं जातीय संवेदनामा आघात पुग्नेगरी टिप्पणी गर्न नहुनेमा जोड दिँदै भने, “तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ, हाम्रा असन्तुलित अभिव्यक्तिले विद्वेष उत्पन्न नहोस् ।”
पुरातात्विक महत्वका स्थानको संरक्षणका सम्बन्धमा भएको समितिको बैठकमा उनले अप्रमाणित एवं पुष्टि नभएका विषयमा विचार व्यक्त गर्नु श्रेयस्कर नहुने बताए। पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदाको अपेक्षितरुपमा अध्ययन, अनुसन्धान र अभिलेखीकरण हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले त्यसलाई सरकारले प्राथमिकतामा राखेको बताए।
सरकार एक्लैले अध्ययन अनुसन्धानका काम सम्पादन गर्न नसक्ने तर्क गर्दै उनले भने, “अनुसन्धानका निम्ति विश्वविद्यालयहरू र प्राज्ञिक वर्गलाई परिचालन गर्न सकिन्छ ।” योगी नरहरिनाथले सङ्कलन गरेका दस्तावेज संरक्षण गर्न सरकार तत्पर रहेको र सम्बन्धित पक्षसँग वार्ता भएको तर त्यो सफल नभएकाले पुनःवार्ता गरेर तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।
समितिका सदस्य माधवकुमार नेपालले चितवनको अयोध्यापुरी, वाल्मिकी आश्रम लगायत क्षेत्रको गहन अनुसन्धान गर्नु पर्नेमा जोड दिँदै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयमा मात्र सीमित राख्न नहुने बताए। उक्त दरबारको केही भाग राहदानी विभाग रहेकाले त्यसको स्थानान्तरण हुन जरुरी भएको उनको भनाइ थियो ।
अर्का सदस्य भीम रावलले पछिल्लो समयमा भारतीय सुरक्षाकर्मी र नागरिकले झापा लगायत स्थानमा नेपालीमाथि आक्रमण गर्न थालेकाले समितिले ती विषयमा छलफल गर्न शीघ्र बैठक आयोजना गर्नुपर्ने माग गरे ।
समितिका अन्य सदस्यहरूले ऐतिहासिक, सांस्कृतिक, एव। पुरातात्विक महत्वका वस्तु एवं सम्पदाको अध्ययन, अन्वेषण, विश्लेषण, संरक्षण, उत्खनन् र प्रकाशनमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औँल्याए ।





























प्रतिक्रिया