‘पशुपति क्षेत्रको सौन्दर्यता विकासमा सरकार सक्रिय छ’ : पर्यटन मन्त्री भट्टराई

‘पशुपति क्षेत्रको सौन्दर्यता विकासमा सरकार सक्रिय छ’ : पर्यटन मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन् ।

नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिणद्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए । त्यसका लागि पशुपति क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताए । पशुपति क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषदबाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने उनले बताए । उनले एसबीआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको दक्षिणद्वारको सुन्दरताले भक्तजनहरुलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताए । उनले विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपती क्षेत्रलाई विकास गरिएको बताए ।

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्वार निर्माण गर्न पाउँदा खुशी लागेको बताए । बैंकले पशुपती क्षेत्रको दक्षिण तर्फको प्रवेश द्वार, जुत्ता राख्ने घर, एटिएम घर लगायतका संरचना निर्माण गरेको छ ।

Logo