मनाङमा भित्रिए एक वर्षयता २१ हजार

मनाङमा भित्रिए एक वर्षयता २१ हजार

केन्द्रबिन्दु
84
Shares

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ। विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ।

वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन्। तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ। मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्याङ्क रहेको उनले बताए। विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए।

उनले भने, “अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, सङ्ख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन्।” मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ।

नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए। उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो। सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उनको भनाइ छ।

आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद भूपेन्द्र गुरुङले जानकारी दिए। उनले भने, “तीन/चार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बढ्दै गएको छ।” आन्तरिक पर्यटकको भने अभिलेख राखिदैन तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ।

Logo