ऐतिहासिक मदन मेला जेठ १३ देखि

ऐतिहासिक मदन मेला जेठ १३ देखि

केन्द्रबिन्दु
70
Shares

तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।

विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष ढिला गरेर सञ्चालन हुन लागेको हो। यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ। त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमहरु गर्थे।

द्धन्द्धकालमा केही वर्षहरुबाहेक निरन्तर सञ्चालन भएको मेलालाई पछिल्लो समय स्थानीय सरकारले नेतृत्व गर्दै सञ्चालन गर्ने गरेको छ। यो वर्ष भने प्राविधिक कारणवश मेला सञ्चालनमा ढिलाइ भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए। मेलामा यो वर्ष पनि खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता, स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएका छन्।

यो वर्ष मेला सञ्चालनका लागि गाउँपालिकाका उपाध्यक्ष एवम् मदन धारा समितिका सदस्य बलीराज इङनामको अध्यक्षतामा मेला सञ्चालन समिति गठन गरिएको छ।

मेला आयोजक समितिका अध्यक्ष इङनामले ऐतिहासिकरुपमा हुँदै आएको मेलाको तयारी तीब्ररुपमा भइरहेको बताएका छन्। यो वर्ष पुरुष फुटबलतर्फ विजेतालाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख ३० हजार रुपैयाँ पुरस्कार राशी तोकिएको छ।
त्यस्तै, महिला फुटबलतर्फ विजेतलाई ८० हजार र उपविजेतालाई ६० हजार रुपैयाँ तोकिएको छ। स्थानीय तहस्तरीय भलिबल प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई ३५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ।

स्वर्गीय मदन शमशेरको स्मृतिमा उनकी श्रीमती जगदम्बाले यहाँ खानेपानीको समस्या देखेर धारा, औषधालय र अतिथि भवन स्थापना गर्न सहयोग गरेकी थिइन्। त्यसबेला उनले धारा, औषधालय र भवन सञ्चालनका लागि चलअचल सम्पत्ति समेत हस्तान्तरण गरेको बताइन्छ। त्यहीबेला देखि मदन शमशेरको स्मृतिमा मेला सञ्चालन सुरुवात भएको पाइन्छ।

अतिथि भवन माओवादी केन्द्रले सशस्त्र द्धन्द्धका बेला ध्वस्त पारेका थिए भने त्यसैबेला आम्दानीका श्रोतकारुपमा रहेका जमीनहरु हडपेपछि औषधालय समेत बन्द भएको थियो। पछिल्लो समय सरोकारवालाहरुले मदन ट्रष्टका रुपमा रहेका सम्पत्तिको संरक्षणको प्रयास गर्दै आएका छन्। तर राज्यको कसिलो अनुगमन र नियन्त्रण नहुँदा त्यसको दुरुपयोग भएको आरोप समेत लाग्दै आएको छ।

Logo