इलाम। गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने सूर्योदय हेरेर पर्यटक रमाउँछन्।
पर्यटकहरूले स्मृति मात्र होइन, स्थानीय उत्पादन ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरे लगायतका कोसेली लिएर फर्किन्छन्। सूर्योदय–१० स्थित फिक्कल बजारमा पसलहरूमा सजिएका कोसेलीका उत्पादन पर्यटकले रोजी किन्दै जान्छन्।
स्थानीय व्यापारीका अनुसार, सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ भने सिजनमा दिनकै ३० हजारसम्म पुग्ने गरेको छ। इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन बसिसकेको छ।
जिल्लामा करिब १८ चिज कारखाना, १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन्। वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन्।
स्थानीय उत्पादन प्रवद्र्धनमा पर्यटनले टेवा पु¥याइरहेको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई अनुदान दिने विषयमा छलफल भइरहेको छ।
चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै स्थानीय उत्पादनको मिठास पर्यटकको झोलामा भरिँदै देशभर फैलिरहेको छ।





























प्रतिक्रिया