चौबिसे राज्य पालाको कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

चौबिसे राज्य पालाको कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

केन्द्रबिन्दु
0
Shares

बागलुङ।

चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट ।

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो । विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताए ।

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाएका हुन् । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उनले बताए ।  रु चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताए ।

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरका लागि नगरको रु ५० लाख बजेट छ । पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्वार गरिने छ ।

कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्वार गरिने छ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती छ । मन्दिरमा अहिले पनि बडादशैँ र चैतेदशैँमा विशेष पूजा हुन्छ ।

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । गोलो पहाडको टाकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंस हुँदै पछि गलकोट भएको बताइन्छ ।

Logo