नवलपुरको गैडाकोटमा मौलाकाली केबलकार औपचारिकरुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै यसकोऔपचारिक उद्घाटन गरेका हुन् ।
करिब १२ सय मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट छन् । परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
केबलकार सञ्चालनमा आएसँगै १८ सय सिँडी चढेर मन्दिर जानु पर्ने बाध्यता समेत हटेको छ । केबलकार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने बताए ।
सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उनले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको उल्लेख गरे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तिव्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरे ।
निजी क्षेत्र तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबलकारले प्रस्तुत गरेको उनको दाबी छ ।
मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो ।
नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सहयोग पुर्याउने विश्वास केबलकार निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिको छ।





























प्रतिक्रिया