– सिंहदरबारमा रहेको सरकारको एकमात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा देशभरका करीब १५ सय बेवसाइट प्रभावित भएका छन् । यसबाट सेन्टरमा रहेको कुनै डाटा र सुचनामा भने क्षति नपुगेको सेन्टरको दाबी छ।
प्रतिनिधिसभामा नयाँ अभ्यास सुरु भएको छ। प्रदेशका बहालवाला मन्त्रीको निधनमा प्रतिनिधिसभा सदस्य सरह सम्मान दिँदै शोक प्रस्ताव पारित गर्ने अभ्यास सुरु भएको हो।
सोही क्रममा बुधबार सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधिसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको छ।
– उद्घाटन भएको झण्डै ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। चीनको सिचुवान एयरलाइन्सको एयरबसले पोखरामा सिधा उडान भरेको हो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित १३० जना यात्रु लिएर उक्त जहाज बुधबार बिहान ८ बजेर ५० मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको थियो।
– ज्यानमार्ने कसुरको मुद्दा सरकारले फिर्ता लिएपछि आमरण अनशनमा रहेका उपप्रध्यापक प्रेम चलाउनेले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्। आफूमाथि नेविसंघका नेविसंघ कार्यकर्ताले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको उनको दाबी छ।
– हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध फिल्म हल सञ्चालकहरुले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका छन्। हिन्दी फिल्म आदिपुरुषमा उल्लेख गरिएको भनिएको वाक्य नसच्याएको भन्दै बालेनले काठमाडौँका हलमा हिन्दी चलचित्र प्रदर्शनमा नै रोक लगाएका थिए। बालेनको उक्त निर्णय कानुन विपरित भएको हल सञ्चालकहरुको भनाइ छ।
– काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। मेयर बालेन शाहको कार्यशैली र पद्धति अलोकतान्त्रिक भएको र यसमा सन्तुष्ट हुने अवस्था नरहेकाले राजीनामा दिएको अर्यालको भनाइ छ।
– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख इम्तियाज आलमले सार्वजनिक गरेको बजेटमा चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख र पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार विनियोजन गरिएको छ।
– बुधबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। दिवसको अवसरमा मुलुकभर विभिन्न जलचेतनामुलक कार्यक्रम आयोजना गरिए। संयुक्त राष्ट्रसंघले सन् २०१४ मा गरेको निर्णयअनुसार २०१५ देखि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
– असारको पहिलोसाता आएको बाढीपहिरोले पूर्वका तीन जिल्ला ताप्लेजुङ,पाँचथर र संखुवासभामा १९ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुपर हेवा खोलामा कार्यरत १८ जना मजदुरको अवस्था अझै अज्ञात छ।
– यूएईमा समस्यामा परेका १४ जना नेपाल कामदार स्वदेश फर्काइएको छ। लामो समयदेखि समस्यामा परेर घर पर्किन नपाएका उनीहरुलाई नेपाल फर्काइएको दुबईस्थित गैरआवासीय मधेसी संघले जनाएको छ।
– हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्सहरुले हवाई भाडा पनि घटाएका छन्। बुधबारदेखि लागू हुने गरी नेपाल आयल निगमले आन्त्रिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएपछि एयरलाइन्सहरुले भाडा पनि समायोजन गरेका हुन्। छोटो दुरीमा काठमाडौँबाट सिमरासम्मको भाडा ९० रुपैयाँ र लामो दुरीमा धनगढीसम्मको भाडा ४४५ रुपैयाँले घटेको छ।
– नेप्से परिसूचक बुधबार १४ दशमलब ०५ अंकले घटेको छ। कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको बुधबार शुन्य दशमलब ६८ अंकले घटेर नेप्से २०५० दशलमव ७८ बिन्दुमा झरेको हो।
– होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश जलेका छन् भने अन्यलाई गोली लागेको छ। लामो समयदेखि समस्याग्रस्त होन्डुरस कारागारमा भड्किएको यो सबैभन्दा घातक हिंसा हो।
– सन् २०२४ को ओलम्पिक आयोजक फ्रान्सको पेरिसमा रहेको ओलम्पिक मुख्यालयमा प्रहरीले छापा मारेको छ। आर्थिक अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा छापा मारेको हो।
– नेपाल १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा पराजित भएको छ।
भारतको बेंगलरुमा बुधबार भएको उद्घाटन खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी कुवेतसँग तीन एक गोलले पराजित भएको हो।
नेपालका लागि सान्त्वना गोल दोस्रो हाफमा अञ्जन बिष्टले गरे।





























प्रतिक्रिया