सुन तस्करी प्रकरणमा नयाँ ‘ट्विस्ट’, गुनासाे आएपछि अध्यागमनमा गृहमन्त्रीको छड्के[भिडियाेसहित]

सुन तस्करी प्रकरणमा नयाँ ‘ट्विस्ट’, गुनासाे आएपछि अध्यागमनमा गृहमन्त्रीको छड्के[भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्री लामिछानेले दिए निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमन विभागलाई निर्देशन दिएका छन् । मंगलबार अध्यागमन विभाग कार्यालयको अनुगमन गर्दै गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न निर्देशन दिएका हुन् । साथै उनले ती श्रमिकलाई सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह पनि गरे ।

हानेपाले बागमती प्रदेशबाट समर्थन फिर्ता लियो
हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिने भएको छ । २ सांसद रहेको हानेपाले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ । राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सरकारलाई समर्थन नदिने बताइसकेको छ । गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

सुन तस्करी प्रकरणमा जीवन चलाउने र एआईजी ज्ञवालीको सन्दिग्ध सम्बन्ध
सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगद्वारा दोषी किटान गरिएका जीवन चलाउनेसँग एआईजी श्यामलाल ज्ञवालीको सन्दिग्ध सम्बन्ध पाइएको छ । चलाउने र ज्ञवालीबीचको फोन सम्पर्कको कल डिटेलसहित गृहमन्त्री रवि लामिछाने समक्ष उजुरीसमेत परेको छ । काठमाडौं बूढानीलकण्ठ–१० कपन बस्दै आएका दिनेश पौडेलले गृहमन्त्री लामिछानेलाई ज्ञवालीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेः गगनकुमार थापा
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् । ‘छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गती र मति भएको मानिस चाहिएको छ । हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ । त्यसलाई कार्पेटभित्र राखेर हुँदैन ।’ उनले भने ।

मेयर गोपी हमालकी छोरी भारतमा बेपत्ता
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकी छोरी भारतमा हराएकी छन् । मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।

ढोलाहिटी हत्यारा काण्डका चार आरोपीत सार्वजनिक
होली पर्वका दिन २ जनाको ज्यान जानेगरी ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा भएको झडपमा संलग्न मुख्य चार आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । उनीहरुमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ ।

रास्वपाबाट इलाम–२ उपनिर्वाचनमा मिलन लिम्बू उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनको लागि माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कट्टर पहिचानवादीका रूपमा चिनिएका उनी जनजाति पत्रकार महासंघ फोनिजका महासचिवसमेत हुन् । लिम्बूले इलाम २ बाट स्वतन्त्र चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् ।

वीएण्डसीलाई सम्बन्धन दिएपछि डा. गोविन्द केसीको आपत्ति जनाए
चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले दुर्गा प्रसाईंले संचालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन् । डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसला र त्यसले सृजित हल्लाले ध्यानाकर्षण भएको बताएका छन् । सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन मा जानुको विकल्प नरहेको उनको भनाई छ ।

धार्मिक नास्तिकता फैलाएकोबारे अमेरिकी दूतावासले दियो जवाफ
अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे स्पष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको प्रष्टीकरण दिएको हो । नेपालसँग सम्बन्धित भएर उठाइएका प्रश्न र त्यसबारे नेपालका विभिन्न व्यक्ति, पार्टी र संस्थाहरुले प्रश्न उठाइरहेको सन्दर्भमा अमेरिकी दूतावासले जवाफ दिएको हो ।

बिजुली उत्पादन बढेसँगै भारतमा २५० मेगावाटसम्म बिजुली निर्यात
मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेकाले सुख्खायाममा नै भारतमा २५० मेगावाटसम्म बिजुली निर्यात भएको छ । चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणले वर्षायाममा साढे १५ अर्बको बिजुली भारत बेच्यो । पूर्वी क्षेत्रमा दुई दिन सार्वजनिक बिदा पर्दा अधिकांश कार्यालय बन्द भयो । जसबाट आन्तरिक खपत घट्दा भारत बिजुली बेचेको प्राधिकरण बताउँछ । यसबाहेकको समयमा प्राधिकरणले भारतबाट साढे ६०० मेगावाटभन्दा बढी बिजुली ल्याइरहेको स्थिति छ ।

नागरिक उड्डयन अध्यक्ष अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधियो
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ । निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापर्बाही गर्दै आएको प्राधिकरणले जनाएको छ ।

१०.१४ अंकले बढ्यो शेयर बजार
आज नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१ अंकमा पुगेको छ । यसक्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार बजार घट्दा पनि कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ थियो ।

कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवारः पुटिन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताएका छन् । मार्च २२ मा क्रोकस सिटी हलमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् । टेलिभिजनमा प्रसारण भएको वार्तामा उनले भने, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।”

आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालको क्लिन स्विप
घरेलु टोली नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको ट्वान्टी–२० शृङ्खलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्ड वुल्भ्समाथि ७१ रनको जित दर्ता गर्दै शृङ्खलामा क्लिनस्विप गरेको हो । नेपालले जितका लागि दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड वुल्भ्स १८।३ ओभरमा अलआउट हुँदै १२७ रनमै समेटियो । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेलेको हो । आयरल्यान्डको टोलीमा रहेका १५ मध्येका ९ खेलाडीले आयरल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।

Logo