काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र दोस्रो तहका नेता अझै जीवित भएकाले सामान्य विवाद हुँदैमा नेकपा नफुट्ने बताएका छन् । मंगलबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै उनले पार्टी नफुट्ने बताएका हुन् । पार्टी र सरकारले गरेका काम कारवाहीमा व्यापक असन्तुष्टि रहे पनि पार्टीको जारी बैठकबाटै समाधान खोजिने नेता रायमाझीको भनाइ छ ।
त्यस्तै प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको उपसमितिले बैंकका सहायक कम्पनीलाई शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिन सकिने सुझाव सहितको प्रतिवेदन समितिमा पेश गरेको छ । मंगलबार उपसमितिले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन सकिने सुझाव समितिमा पेश गरेको हो ।
चिनियाँ राजदूत होउ यान्छीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेतवार्ता गरेकी छन् । राजदूत यान्छीले डल्लुस्थित खनाल निवास पुगेर भेटवार्ता गरेकी हुन् ।
त्यस्तैगरी युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबीच १२ बुँदे सहमति भएको छ । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर परीक्षण गर्ने र आरडीटी परीक्षण बन्द गर्ने प्रतिबद्धता जनाएसँगै अनसनरत दुई युवा ईः र पुकार बमले पानी पिएर अनसन तोडेका हुन् ।
युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु १ करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षिय लामिछानेलाई यस सिजनको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको थियो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया