अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलो पटक ऋणात्मक, नेपालमा के पर्छ असर ?

अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलो पटक ऋणात्मक, नेपालमा के पर्छ असर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको संकटका कारण विश्व बजारमा तेलको माग घटेपछि अमेरिकामा इतिहासमै पहिलोपटक तेलको भाउ ऋणात्मक भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा घटबढ हुने वित्तिकै नेपालमा पनि त्यसको असर पर्ने गर्दछ । विश्व बजारमा कच्चा तेलको भाउ झर्नुको अर्थ पेट्रोलियम पदार्थहरुको पनि भाउ घट्नु हो । कच्चा तेलको भाउमा आएको गिरावटले पेट्रोल र डिजेल सस्तो हुने गरेको छ । तर अमेरिकामा आएको तेलको गिरावटले नेपालमा त्यति ठूलो असर नपर्ने सम्बन्धित सरोकारवालाहरुले बताएका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उतारचढाव हुने क्रम बढेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउँदा नेपालमा पनि यसको केही मात्रामा प्रभाव पर्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट अनुसार भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा नै नेपालमा मूल्य निर्धारण गर्ने गरिन्छ । अहिलेको अबस्थामा भारतीय निगमले तोकेको मूल्यको आधारमा नै नियम अनुसार अबको पन्ध्र दिनमा मूल्य परिवर्तन हुन्छ ।’

अहिले अन्तर्राष्ट्रिय बजारमा जस्तै नेपालमा तत्काल तेलको मूल्यमा फरक परिहाल्ने अवस्था नरहेको प्रवक्ता उपाध्यायको भनाइ थियो । त्यसैगरी, नेपालको तेल बजार भारतीय आयल निगमसँग भर पर्नु पर्ने भएकाले खासै फरक नपर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले बताए । नेपालले भारतीय आयल निगमसँग तेलको अर्थतन्त्रमा निर्भर रहने सम्झौता गर्नु नै गलत रहेको उनले बताए । अहिले भारतीय निगमले तोकेको मूल्यको आधारमा नेपालमा मूल्य निर्धारण गर्ने नियम बनेको छ । ‘भारतिय आयल निगमले नेपाललाई अन्तर्राष्ट्रिय मूल्यका आधारमा तेल नपठाएर आफ्नो मूल्यका आधारमा लगाउने गरेको छ । हाम्रोमा पन्ध्र पन्ध्र दिनमा मात्रै मूल्य समायोजन हुन्छ तर पनि निगमले ५ प्रतिशत भन्दा बढि नाफा राखेर मात्रै बजारमा बिक्रि गर्ने भएकाले अहिले नै तेलको मूल्यमा गिरावट आउने नदेखिने बानियाँले बताए ।

कोरोना भाइरस संक्रमणका कारण सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल शून्य डलरभन्दा पनि तल झरेको छ । अमेरिकामा ३४ वर्षको अन्तरालमा पहिलो पटक कच्चा तेलको भाउ शून्यभन्दा पनि तल झरेको हो । अमेरिकी बेन्चमार्क क्रुड वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) को भाउमा ऐतिहासिक गिरावट आएको छ । सोमबार यो प्रतिब्यारेल ३७.६३ डलर पुगेको छ । लकडाउनका कारण मानिसहरु घरभित्र रहनु र औद्योगिक गतिविधि रोकिनुले तेलको माग स्वाट्टै घटेको हो । यस्तो समयमा तेल उत्पादकहरुले बढी आपूर्ति गरेका कारण अमेरिकामा कच्चा तेलको भाउ ऋणात्मक भएको बताइएको छ । सन् २०२० सुरु भए यता मात्रै अमेरिकामा कच्चा तेलको भाउमा दुई तिहाइले कमी आइसकेको छ ।

विश्वमा कोरोना भाइरसका कारण अप्रिल महिनाको सुरुमै विश्वका तेल उत्पादक मुलुकहरुको संगठन ओपेक सदस्य राष्ट्रहरुले तेलको उत्पादन कटौती गरेका थिए । ती मुलुकहरुले विश्व बजारमा तेलको मागमा कमी आउने भन्दै १० प्रतिशतले तेलको उत्पादन घटाएका थिए ।

Logo