काठमाडौं । अमेरिकाले उसको मुलुकमा गैरकानूनी रुपमा बसेका नेपालीलाई फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रवासीसम्बन्धी कडा नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई लिएर अमेरिकी विमान काठमाडौंका लागि उडेको समाचार प्राप्त भएका छन्।
नेपाल फर्काइएकाहरूमा गैरकानूनीरूपमा काम गरिरहेका र अध्यागमन मामला हेर्ने अदालतबाट निष्कासनमा परेकाहरू रहेको बताइएको छ । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजबाट १० जना नेपाली ल्याउन लागिएको हो । उक्त एयरको सानो विमान गल्फजेटस्ट्रिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको बताइएको छ ।
उक्त जहाज बुधबार बिहान १० बजे काठमाडौं ल्याण्ड हुनेछ । त्यस्तै पर्सि विहीबार दिउँसो ३ बजे फर्किने सेड्युल छ । यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिसकेको छ । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेर विमान नेपालका लागि उड्ने स्रोतले बतायो ।
प्राधिकरण स्रोतका अनुसार यसअघि पनि गत मंसिर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत अवैध बसोबासी १५ नेपालीलाई पठाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्याकालमा राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै अवैधरूपमा अमेरिकामा बसिरहेका आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गरेका थिए ।





























प्रतिक्रिया