काठमाडौं । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित ‘साथी बोट’ (कम्प्यानियन बोट) प्रति बढ्दो भावनात्मक निर्भरता र सम्भावित जोखिमलाई सम्बोधन गर्न नयाँ नियमन व्यवस्था सार्वजनिक गरेको छ ।
तीव्र गतिमा विस्तार भइरहेको एआई साथी सेवाको प्रयोगलाई व्यवस्थित गर्न चीनले बुधबार नयाँ नियम जारी गरेको हो । यस्ता एआई सेवाले ग्राहक सेवा, मानसिक स्वास्थ्य सहयोग, बालबालिका तथा वृद्धवृद्धाको हेरचाहलगायत क्षेत्रमा मानवीय व्यक्तित्व र संवादको अनुकरण गर्दै लोकप्रियता हासिल गरेका छन् ।
नयाँ नियमअनुसार एआई साथी सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताको भावनात्मक अवस्था पहिचान गर्ने, सङ्कटपूर्ण अवस्थामा आवश्यक हस्तक्षेप गर्ने, अत्यधिक प्रयोग नियन्त्रण गर्ने तथा प्रयोगकर्तालाई व्यक्तिगत तथ्याङ्कमाथि पूर्ण नियन्त्रण सुनिश्चित गर्नुपर्नेछ । साथै, प्रयोगकर्ताको व्यक्तिगत जानकारी दुरुपयोग हुन नदिन आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ ।
नियमले एआई साथी सेवालाई पाठ, तस्बिर, अडियो वा भिडियो माध्यमबाट निरन्तर भावनात्मक अन्तरक्रिया प्रदान गर्ने प्रविधिका रूपमा परिभाषित गरेको छ । तर ग्राहक सेवा, शिक्षा तथा वैज्ञानिक अनुसन्धानजस्ता उद्देश्यमा प्रयोग हुने एआई अनुप्रयोगलाई यसको दायराभन्दा बाहिर राखिएको छ ।
विभिन्न क्षेत्रमा एआई प्रविधिको प्रयोग बढेसँगै चीनको एआई बजार पनि तीव्र रूपमा विस्तार भइरहेको छ । पछिल्लो अनुसन्धानअनुसार सन् २०२५ मा चीनको एआई बजार एक दशमलव दुई ट्रिलियन युआन (करिब १७७ अर्ब अमेरिकी डलर)भन्दा बढी पुग्ने र सन् २०२८ सम्ममा एक दशमलव आठ ट्रिलियन युआन नाघ्ने अनुमान गरिएको छ ।
नयाँ नियमले एआई प्रविधिको विकाससँगै प्रयोगकर्ताको मानसिक स्वास्थ्य, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्न खोजेको अधिकारीले बताएका छन् ।































