काठमाडौं । अमेरिकाले लगातार १० रात इरानका दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ । सिरिक, बन्दर अब्बास, केश्म टापु, चाबहार, कोनार्कलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले जुलाई २० को रात इरानविरुद्ध लगातार १० चरणको सैन्य अभियान सम्पन्न भएको जनाएको छ । उक्त अभियान अमेरिकी समयानुसार राति ९ बजे सुरु गरिएको थियो ।
सेन्ट्रल कमान्डले आक्रमणमा इरानका सैन्य कमान्ड सेन्टर, नौसैनिक पूर्वाधार, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल र हवाई रक्षा प्रणालीलाई निसाना बनाएको थियो ।
इरानी सेनाले पछिल्ला केही घण्टामा कुवेतस्थित क्याम्प अरिफजान अमेरिकी सैन्य अखडामा तैनाथ एचआईएमएआरएस मिसाइल प्रणालीलाई निसाना बनाइएको जनाएको छ ।
इरानले आफ्नो स्थलसेनाले ‘अपरेसन साएकेह’को १८औँ चरणअन्तर्गत कुवेतको अरिफजानस्थित अमेरिकी सैन्य अखडामा तैनाथ एचआईएमएआरएस आर्टिलरी प्रणालीमाथि मिसाइल प्रहार गरेको जिकिर गरेको हो ।
इरानी सेनाका अनुसार, उक्त आक्रमणबाट एचआईएमएआरएस प्रणालीमा क्षति पुगेको छ । सोही कारण अमेरिकी सेनाको आक्रामक तथा प्रतिरक्षात्मक क्षमता प्रभावित भएको दाबी गरिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेतस्थित अहमद अल–जाबेर एयर बेसस्थित अमेरिकी सैन्य प्रणालीमाथि पनि आक्रमण गरिएको जनाएको छ ।
तस्निम समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले उक्त आक्रमणमा अर्ली वार्निङ रडार, मिसाइल प्रतिरक्षा रडार, एफपीएस–११७ रडार, प्यट्रियट हवाई रक्षा प्रणाली तथा हवाई रक्षा स्याटेलाइट सञ्चार प्रणाली ध्वस्त पारिएको दाबी गरेको छ ।
अमेरिकी पक्षले यी दाबीको पुष्टि गरेको छैन । स्वतन्त्र स्रोतबाट पनि यसको पुष्टि हुन बाँकी छ । उता, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका छन् । उनीहरूले बाब–अल–मन्देब जलमार्ग साउदी जहाजका निम्ति बन्द गरिने जनाएका छन् । र, साउदीसँग सम्बन्धित सबै जहाज आफ्नो निसानामा रहने चेतावनी दिएका छन् । लालसागरको प्रवेशद्वार मानिने उक्त जलमार्गबाट विश्व व्यापारको करिब १० प्रतिशत आवागमन हुने गर्छ ।































