काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारूढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न पाउँछन् कि पाउँदैनन् भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै गौतम मन्त्री बन्न पाउँछन कि पाउँदैनन् भन्ने बहस सुरु भएको हो ।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख एनपी सावदले विभागको उपप्रमुख र सदस्यमा विवादास्पद व्यक्तिलाई मनोनयन गरेपछि पार्टीभित्र आलोचना बढेको छ । यस्ता नियुत्तिले सम्बन्धित विभागलाई मात्र नभएर समग्र पार्टीलाई नै समस्यामा पार्ने भन्दै यस्तो निर्णय फिर्ता लिन पार्टीभित्रैबाट माग उठेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । डब्लुचएओका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्ने बताएका हुन् ।
त्यस्तैगरी डेरीहरुले पछिल्लो समय धमाधम ताजा दुधबाट पाउडर दुध बनाउन थालेका छन् । उत्पादिन दुधको ७० प्रतिशत बिक्री हुन छोडेपछि डेरीहरूले विकल्पको रुपमा ताजा दूधलाई पाउडर दुध बनाउन सुरु गरेका हुन् ।
लकडाउनले रोकिएको कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिने भएको छ । गत चैत ८ गतेदेखि रोकिएको १२ को परीक्षा भदौको अन्तिमसम्म आइपुग्दा पनि हुन् सकेको छैन । विद्यार्थीले विश्वभर लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ अध्ययन गरेर यसको मूल्यांकन प्रणालीको विकल्प खोजिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया